ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालबालिका बीमामा एकरूपता ल्याउन नयाँ मापदण्ड

बीमांक ५० लाखसम्म

२०७८ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा समितिले बालबालिका बीमासम्बन्धी प्रडक्टहरूमा एकरूपता ल्याउने गरी नयाँ मापदण्ड तोकेको छ । बीमांकीय दृष्टिकोणले बालबालिका बीमाको प्रचलित पोलिसीहरू बीमाको सिद्धान्तविपरीत भएपछि समितिले नयाँ मापदण्ड तोकेको हो । अब अभिभावकले प्रस्तावक भएर आफ्ना सबै बालबालिकाको समान रूपमा बीमा गर्नुपर्नेछ । साथै, सबै बालबालिकाको कुल बीमांक ५० लाख रुपैयाँभन्दा बढी हुन नपाउने नयाँ व्यवस्था गरिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बालबालिकाको बीमामा नयाँ मापदण्ड तोकिएको बताए । ‘बालबालिकाको आम्दानी नै हुँदैन । यो अवस्थामा उनीहरूको बीमा गर्न सकिँदैन भनेर बीमांकीहरूले टिप्पणी गर्दै आएका थिए । यस मामिलामा उचित निर्णय लिन एक अध्ययन समिति बनाएका थियाैं,’ उनले भने, ‘अध्ययन समितिको सिफारिशको आधारमा यस्तो व्यवस्था गरिएको हो ।’

बालबालिकाको औपचारिक आम्दानी हुँदैन । हालसम्म अभिभावकहरू आफै प्रस्तावक बसेर बालबालिकाको बीमा गर्दै आएका छन् । तर, बालबालिकाको आम्दानी नै नभएको अवस्थामा उनीहरूको बीमा गर्न नसकिने भन्दै बीमांकीहरूले विरोध छ ।

त्यसैले समितिले यसमा उचित निर्णय गर्न करिब १ वर्षअघि बीमा विज्ञ भोजराज शर्माको सयोजकत्वमा एक अध्ययन समिति बनाएको थियो । समितिमा जीवन बीमा कम्पनीहरूका तर्फबाट मेट लाइफ, नेपाल लाइफ र एलआईसी इन्स्योरेन्सका एक/एक जना उच्च अधिकारको प्रतिनिधित्व रहेको थियो । सोही अध्ययन समितिको सिफारिशको आधारमा यस्तो निर्णय भएको पौडेलले बताए ।

नयाँ व्यवस्थाअनुसार अब अभिभावकले एउटा बच्चाको बीमा गर्छु र अर्को बच्चाको बीमा गर्दिनँ भन्न पाउँदैनन् । बीमा गर्ने भएपछि सबै बालबालिकाको समान रूपमा नै बीमा गर्नुपर्ने मापदण्ड तोकिएको छ । साथै, उनीहरूको कुल बीमांक पनि ५० लाखभन्दा बढी बनाउन नपाइने बीमा समितिको भनाइ छ ।

‘अब अभिभावकले बीमा गर्ने भए सबै बालबच्चाको समान रूपमा बीमा गर्नुपर्छ । कोहीको गर्ने, कोहीको नगर्ने भन्ने हुँदैन,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘अब कुनै दम्पतीको दुई बालबालिका छन् भने उनीहरूले बढीमा २५/२५ लाखसम्मको बीमा गर्न सक्नेछन् ।

त्यो भन्दा माथि जान पाइनेछैन ।’ बीमा कम्पनीहरूलाई उक्त नयाँ मापदण्ड कार्यान्वयन गर्न सोमवार पत्राचार गरिसकेको उनको भनाइ छ ।

अब बीमा कम्पनीहरूले यस सम्बन्धमा आफ्नो ढंगले फरकफरक प्रडक्ट ल्याउन पाउने छैनन् । सबै कम्पनीको प्रडक्टमा एकरूपता हुनुपर्ने बीमा समितिको भनाइ छ ।

कम्पनीहरूले हालसम्म प्रचलित प्रडक्ट पनि तोकिएको मापदण्डअनुसार संशोधन गरेर बीमा समितिबाट स्वीकृति लिनुपर्ने छ । त्यसपछि मात्र त्यस्ता प्रडक्ट विक्री गर्न सकिनेछ । साथै, नयाँ बालबालिकासम्बन्धी नयाँ प्रडक्ट बनाउँदा पनि यसैमा आधार रहेर बनाउनुपर्ने समितिका कार्यकारी निर्देशक पौडेलले भनाइ छ ।

बीमांकीले बालबालिकाको बीमामा विभिन्न टिप्पणी गरेपछि समितिले करीब १ बर्ष पहिलेदेखि यस्तो बीमाको कारोबार तत्काल नगर्न कम्पनीहरूलाई भनेको थियो । तर, पनि यस्तो बीमाको कारोबार भइरहेको थियो । ‘हामीले निर्देशिका नै तोकेर बालबालिका बीमालाई व्यवस्थित गर्न खोजेको थियौं । तर, यसको कारोबार नै गर्न नदिएको अवस्थामा त्यो सम्भव भएन,’ पौडेलले भने, ‘बीमा कम्पनीहरूले पनि ढिलाइ भएको भनेपछि मापदण्ड तोकेर यसको कारोबार गर्न भनेका हौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)