ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेज, औद्योगिक ग्रामको पूर्वाधारदेखि एसएमई प्राथमिकतामा

स्थानीय कच्चापदार्थमा आधारित १५० उद्योगलाई प्रविधि सहयोग

२०७८ बैशाख, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । आन्तरिक उत्पादन, निर्यात वृद्धि र रोजगारी सृजना गर्ने उद्देश्यले अघि सारिएका विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिने भएको छ । साथै साना तथा मझौला उद्यम (एसएमई)मा प्रविधि सहयोगलाई पनि प्राथमिकता दिने तयारी सरकारले गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७८÷७९ को बजेट तथा कार्यक्रममा उल्लिखित क्षेत्रलाई प्राथमिकता दिँदै अहिले निजीक्षेत्रसँग छलफल शुरू गरेको छ । आगामी आवका लागि ११ अर्बको बजेट सिलिङ पाएको मन्त्रालयले सेज, औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार विकासलाई नै बढी जोड दिएको छ । साना तथा मझौला, लघु र घरेलु उद्योगलाई पनि प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम बनाउन लागिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

चालू आव र विगतका वर्षमा मन्त्रालयको सहयोग छरिएर वितरण भएकाले अपेक्षित परिणाम आउन नसकेको ती अधिकारीले बताए । ‘आगामी आवदेखि यस्तो समस्या नदोहोरियोस् भनेर योजना नै किटेर वस्तु, स्थानीय उत्पादन र कस्ता उद्यमलाई के कस्तो सहयोग गर्ने विषयमा निश्चित गरिएको छ,’ उनले भने । सोही अनुसार नेपालमै उत्पादन हुन सक्ने, तर भारत र चीनबाट आयात भइरहेका सामग्रीलाई प्रतिस्थापन गर्न सक्ने उत्पादनलाई छनोट गरिएको छ ।

मन्त्रालयका अनुसार स्थानीय कच्चापदार्थबाट नेपालमै उत्पादन हुने सेरामिक्सका सामग्री, भेडा–च्यांग्राका भुवाको व्यवस्थित संकलन गर्ने, अल्लो, चिउरी जस्ता स्वदेशी उत्पादनलाई किटानै गरेर के कसरी सहयोग गर्ने भन्ने यकिन गरिएको छ । अहिले होटेल, रेस्टुराँहरूमा सेरामिक्सका सामग्रीको प्रयोग बढ्दो छ । नेपालमा कच्चापदार्थ भए पनि बाहिरबाट यस्ता सामग्री आयात भएका छन् ।

यस्तै पूर्वेली र पश्चिमेली ढाका (कपडा)लाई ब्राण्डिङ गर्ने विषयमा पनि योजना बनेको छ । लघु, घरेलु तथा साना उद्योगलाई सहयोग गर्न बजेट सिलिङभित्रै रहेर कार्यक्रम ल्याउने तयारी गरिएको छ । यसमा प्रदेश, स्थानीय तहको आफ्नै योजना हुने भए पनि मन्त्रालयले पनि बजेट विनियोजन गरी सघाउनेछ ।

यसैगरी मन्त्रालयले आगामी आवमा  १५० ओटा साना उद्योगलाई पाइलट प्रोजेक्टका रूपमा छनोट गर्दै छ । यस्ता उद्यमलाई लक्षित गरेर नेपालमा प्रविधि भित्र्याउने तयारी गरिएको छ । नेपालमा ल्याउने त्यस्तो प्रविधिले स्वदेशी उत्पादन बढाउने, बजारमा गुणस्तरीय सामग्री ल्याउन र विदेशी वस्तुहरूसँग प्रतिस्पर्धा गर्न सघाउनेछ । त्यस्तो प्रविधिबाट उत्पादन बढेमा, गुणस्तरीय र प्रतिस्पर्धी सामग्री विक्री वितरण भएमा थप उद्योगमा पनि विस्तार गरिनेछ ।

यी उद्योगहरू साना तथा मझौला, लघु र घरेलु हुनेछन् भने स्थानीय कच्चापदार्थमा आधारित, स्थानीय बजारमा भारत र चीनबाट आउने सामग्रीलाई प्रतिस्थापन गर्ने खालका लागि छनोट गरिनेछ । यस्तै मन्त्रालयले विदेशबाट आउनेहरूलाई लक्षित गरेर उनीहरूको चाहनाअनुसार उद्यम तथा व्यवसायमा सहयोग गर्ने भएको छ । आगामी आवको बजेटमार्फत त्यस्ता युवालाई उनीहरूसँग भएको शीपका आधारमा मन्त्रालयले सहयोग गर्नेछ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित साना व्यवसायीलाई सस्तोमा ऋण उपलब्ध गराउन उद्योग मन्त्रालय र अन्तर्गतका निकायले सघाउने गरी योजना बनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)