ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्न थाल्यो सुनको मूल्य

कारोबारमा छैन असर

२०७८ बैशाख, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना विपद् कम हुँदै गएपछि घट्न थालेको सुनको मुल्य पुनः बढ्न थालेको छ । कोरोना संकटमा ह्वात्तै बढेको सुनको मूल्य पछिल्ला महीनामा घट्दै गएको थियो । बुधवार भने तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार पुगेको छ, जुन पछिल्लो साढे २ महीनायताकै सबैभन्दा बढी हो ।

यसअघि माघ २१ गते सुनको मूल्य प्रतितोला रू. ९२ हजार रहेको थियो । त्यसयता मूल्य घट्दै चैत १८ गते प्रतितोला रू. ८५ हजार ५०० मा झरेको थियो । चैत १९ गते यतादेखि भने सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

मंगलवार सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० थियो । बुधवार एकैपटक १३०० रुपैयाँले बढेर रू. ९२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

पछिल्लो समय अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हुँदा सुनको मूल्य बढेको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग्ड छ । त्यो अवस्थामा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘हामीले डलरमा नै सुन आयात गर्नुपर्छ । त्यो अवस्थामा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः बढ्छ,’ उनले भने, ‘तर, अन्य मुलुकहरूमा भने यस्तो हुँदैन । अन्य मुलुकमा डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने सम्भावना हुन्छ । दक्षिण एशियाली मुलुकमा प्राविधिक रूपमा त्यो सम्भव छैन ।’ केही समयअघि ११६ रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य अहिले बढेर १२० रुपैयाँभन्दा बढी भएको छ । यसरी डलरको मूल्य बढ्दा आयात महँगो हुन गई सुनको मूल्य बढेको हो ।

अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्यो भने लगानी डलरतिर नै जान्छ र लगानीकर्ताहरूले सुनको विक्री बढाउँछन् ।

त्यसैले अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्यो भने सुनको मूल्य घट्ने सैद्धान्तिक मान्यता छ । तर, दक्षिण एशियाली मुलुकमा भने डलरको मूल्य बढ्दा सुनको मूल्य पनि बढ्ने शाक्य बताउँछन् ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढेको शाक्यको भनाइ छ । अन्तरराष्ट्रिय बजारको मूल्यअनुसार पनि नेपालमा सुनको मूल्य निर्धारण गरिन्छ ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । त्यसको असर नेपालमा यसको मूल्य बढ्न थालेको शाक्य बताउँछन् ।

पछिल्लो समय दक्षिणा एशियामा डलर बलियो भए पनि अन्तरराष्ट्रिय बजारमा भने कमजोर हुँदै गएको छ । फलतः लगानीकर्ताहरूले डलर छोडेर सुनतिर लगानी बढाएका छन् । त्यसको असरले नै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढेको शाक्यको भनाइ छ ।

केही समयअघि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६७ तोला) १६८० डलर थियो । तर, अहिले त्यो बढेर १७८३ सम्म पुगेको छ । यसरी अन्तरराष्ट्रिय बजारमा सुन मूल्य बढेपछि नेपालमा पनि बढेको शाक्यको भनाइ छ ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा लगानीकर्ताहरुले सुनतर्फ लगानी बढाएका थिए । त्यसैले यसको मूल्य बढेर नयाँ उचाइमा पुगेको थियो । नेपालमा पनि गत साउन २३ गते सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ५०० पुगेको थियो ।

मूल्य बढे पनि यसको कारोबारमा भने कुनै कमी नआएको शाक्य बताउँछन् । ‘अहिले विवाहको लगनका कारण मूल्य बढे पनि कारोबारमा कुनै असर पुगेको छैन । सुनका गरगहनाको माग बढ्दो नै छ,’ उनले भने, ‘अहिले दैनिक ४० केजीभन्दा बढी सुन खपत हुने गरेको छ । विवाहको सिजन सकिएपछि के हुन्छ भन्न सकिँदैन ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)