ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भटमासको प्रशोधित तेल निकासी ३ गुणा बढ्यो

२०७८ बैशाख, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निर्यात उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ९ महीनामा १ लाख १९ हजार २०० मेट्रिकटन (मेट) भटमासको प्रशोधित तेल निकासी भएको छ ।

बारा र पर्साका तेल उत्पादकले चालू वर्षको साउनदेखि चैतसम्ममा भारततर्फ निकासी गरेको यो परिमाण अघिल्लो आव २०७६/७७ को समीक्षा अवधिभन्दा ३ गुणा बढी हो । गतवर्ष चैत महीनासम्ममा यो नाकाबाट ३८ हजार ३६ मेट यस्तो तेल निकासी गरेका थिए ।

अघिल्लो वर्षसम्म पाम आयल निकासी गरिरहेका उद्योगी अहिले भटमासको तेलमा केन्द्रित भएका हुन् । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि उद्योगीले भटमास र सूर्यमुखी तेल निर्यात बढाएको भन्सारको तथ्यांकले देखाउँछ । स्वदेशी तेल उत्पादकले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएका छन् ।

नेपालबाट निकासी हुने वस्तुको मुख्य सूचीको अग्रस्थानमा भटमासको तेल छ । वीरगञ्ज भन्सारबाट मात्रै चालू आवको ९ महीनामा करीब १९ अर्ब २५ करोड रुपैयाँ बराबर मूल्यको भटमास तेल निर्यात भएको देखिन्छ ।

उद्योगीले यो नाकाबाट वर्षको पहिलो ९ महीनामा ६ हजार ६४० मेट सूर्यमुखी तेल भारततर्फ पठाएका छन् । यो परिमाण भटमासको तेलको तुलनामा कम भए पनि अघिल्लो वर्ष निकासी भएको सूर्यमुखी तेलभन्दा ५७ गुणा बढी हो । अघिल्लो वर्षको समीक्षा अवधिमा ११६ मेट सूर्यमुखी तेल भारत निकासी भएको थियो । प्रशोधित तेल निकासी व्यापारमा मुख्य योगदान दिने वस्तु बनेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । गत चैतमा भटमासको तेल अत्यधिक निकासी भएको उनले बताए ।

बितेको चैतमा मात्रै यो नाकाबाट भटमासको तेल १८ हजार ३१२ मेट निकासी भएको छ । यो परिमाण अघिल्लो आवको समीक्षा महीनाको तुलनामा २० गुणा बढी हो । गतवर्ष चैतसम्ममा यो नाकाबाट ८९८ मेट भटमासको प्रशोधित तेल निकासी भएको थियो । सूर्यमुखीको तेल निकासी पनि १८ गुणा बढेको देखिन्छ । बितेको चैत महीनामा १ हजार ७५१ मेट सूर्यमुखी तेल भारत निकासी भएको छ । यो परिमाण अघिल्लो वर्षको समीक्षा अवधिमा ९६० मेटमात्र थियो ।

वर्षको शुरुआतदेखि नै प्रशोधित तेल निर्यात हुने मुख्य वस्तुको अग्रस्थानमा छ । यो नाकाबाट जुसजामको निकासी पनि बढेको भन्सारले बताएको छ । वीरगञ्ज नाकाबाट जमोठ कपडा, बत्तीसा त्रिफला, च्यावनप्रास र दन्तमञ्जन निर्यात भएको छ । सेन्थेटिक यार्न, स्पोर्टस् सुज, उनी गलैंचा कार्पेट र तयारी कपडा पनि निकासीको मुख्य सूचीमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)