ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डिजिटल बैंकिङबाट खर्बौं भुक्तानी

२०७८ बैशाख, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरबाट अन्य क्षेत्र त्रस्त भएका बेला डिजिटल बैंकिङका लागि भने अवसर मिलेको बैंकरहरूको भनाइ छ ।

चालू आवको फागुनसम्ममा डिजिटल बैंकिङका १३ ओटा उपकरण तथा प्रविधिमार्फत ग्राहकले करीब ३ करोड ३५ लाख ७० हजारपटक कारोबार गरेका छन् । यी कारोबारबाट २१ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बराबरको रकम ट्रान्सफर भएको छ । तत्कालै भुक्तानी गर्न सकिने आरटीजीएस, कनेक्ट आईपीएस, मोबाइल र इन्टरनेट बैंकिङ, वालेट, ई–कमर्श, डेविट तथा क्रेडिट कार्डलगायत उपकरणबाट यी भुक्तानी भएका हुन् ।

दोस्रो लहरको कोभिड फैलिएसँगै समग्र व्यवसायमा चुनौती देखिए पनि डिजिटल बैंकिङ भने थप फस्टाउँदै गएको देखिन्छ । कोभिडको दोस्रो लहरमा डिजिटल बैंकिङ थप विस्तार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ र वालेटमार्फत भुक्तानी गर्ने संख्या अन्य प्रविधिको तुलनामा बढी देखिएको छ । फागुनमा मात्रै मोबाइल बैंकिङबाट १ करोड ८२ हजारपटक कारोबारमा रू. ४० अर्ब ३५ करोड हाराहारीको भुक्तानी भएको छ ।

ई–सेवा, खल्तीलगायतका वालेटबाट १ करोड ६ लाख १४ हजारपटक कारोबार भई १० अर्ब १८ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । २ लाखभन्दा बढी भुक्तानी गर्न मिल्ने आरटीजीएस प्रणालीबाट ४८ हजारपटकमा १७ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आईपीएसबाट ९ लाख ७ हजारपटकमा १ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको रकम हस्तान्तरण भएको छ ।

कनेक्ट आईपीएसबाट १६ लाखपटक कारोबार भएको छ । यसबाट यस अवधिमा १ खर्ब १० अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । इन्टरनेट बैंकिङ कारोबार २ लाख ६७ पटक भएको छ । यसबाट रू. ८ अर्ब ८८ करोड बराबरको कारोबार भएको छ ।

क्यूआरकोडबाट ६ लाख ३५ हजारपटक भुक्तानी भएको छ । रू. २ अर्ब ५५ लाख भुक्तानी भएको छ । विभिन्न पसल, मलहरूमा राखिएको पोइन्ट अफ सेल्स (पस) मेशिनमा ८ लाख १३ हजारपटक कार्ड स्वाप भएको छ । यसबाट रू. ३ अर्ब ३२ करोड बराबरको भुक्तानी भएको छ ।

अनलाइन सपिङलगायतका ईकमर्शबाट मात्रै १ लाख ३० हजारको संख्यामा रू. ९० करोड ४० लाख बराबरको डिजिटल भुक्तानी भएको छ ।

भुक्तानीका यी नयाँ उपकरणले आम ग्राहकलाई घन्टौं लाइन बसेर बैंकिङ कारोबार गर्न नपर्ने बनाएको छ । अझ बिजुली, खानेपानी, इन्टरनेटलगायतको बिलसमेत घरमै बसेर तिर्न सकिने भएको छ । त्यसैले डिजिटल भुक्तानीमा ग्राहक आकर्षित हुने क्रम बढेको बैंकरहरू बताउँछन् ।

कोभिडको दोस्रो लहरले गर्दा भौतिक दूरी कायम गर्नुपर्ने बाध्यता भएकाले बैंकले डिजिटल भुक्तानीका लागि योजना नै बढाएर अगाडि बढेको ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल बताउँछन् । ‘डिजिटलमा लगानी बढाएर बढीभन्दा बढी प्रयोग गराउनमा जोड दिने हाम्रो योजना छ । सानातिना भुक्तानी गर्न बैंकमा आउनु पर्दैन, मोबाइल बैंकिङबाटै गर्न सकिन्छ । क्यूआर कोड पनि वितरण गरेका छौं । यसमार्पmत भुक्तानी गर्ने क्रम पनि बढ्दै गएको छ,’ उनले अभियानसँग भने, ‘ग्राहकलाई वित्तीय साक्षरता र जागरण बढाउन अझ जरुरी छ । डिजिटल भुक्तानीमा बानी बसाल्न जोड दिनुपर्ने देखिएको छ ।’

विकास बैंकहरूले पनि डिजिटल बैंकिङमा जोड दिएको नेपाल डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलले बताए । उनले भने, ‘अझै डिजिटल बैंकिङका लागि मार्केटिङका कर्मचारीलाई लक्ष्य नै तोकेर काम दिएका छौं । खाता खोलिसकेका ग्राहकलाई मोबाइलबाटै भुक्तानी गर्ने तरीका सिकाएर पठाउने गरेका छौं ।’

मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पोखरेल कोभिड शुरू भएदेखि नै बैंकले जुनसुकै एटीएम मेशिनबाट ग्राहकले नगद झिके पनि सेवा शुल्क नलिएको बताए ।

वित्त कम्पनीहरू पनि डिजिटल बैंकिङमा जोडतोडका साथ अघि बढिरहेको नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरको दाबी छ । कोभिड अघिको तुलनामा कोभिडपछि डिजिटल कारोबार गर्ने ग्राहक करीब २५ प्रतिशतले बढेको उनको भनाइ छ ।

अहिले क्यूआर कोड बढी प्रचलनमा आएको बताउँदै उनले क्यूआर कोडको अन्तरबैंक कारोबार नभएसम्म यसले पूर्ण गति लिन नसक्ने औंल्याए । ‘क्यूआर कोडको एउटै क्लियरिङ हाउस हुन जरुरी छ । यसो भए मात्र भारतको जस्तो विस्तार हुन्छ,’ उनले अभियानसँग भने, ‘हामीले मोबाइल बैंकिङको सुविधा दिएका छौं । यसमा युवा पुस्ताको आकर्षण बढेको देखिन्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)