ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चैतमा औसतभन्दा बढी सुन आयात

२०७८ बैशाख, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्षको चैत महीनामा नेपालमा औसतभन्दा बढी सुन आयात भएको छ । चालू आवका अन्य महीनाहरूमा औसतमा रू. २ अर्ब १४ करोड बराबरको सुन आयात हुने गरेको थियो । तर, चैत महीनामा भने रू. ३ अर्ब २ करोड ७१ लाख बराबरको सुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यस महीनामा ४६० केजी सुन नेपाल भित्रिएको छ । परिमाणका आधारमा यो वर्ष मासिक औसतमा ३०० केजी सुन आयात हुँदै आएको थियो । चैतमा त्योभन्दा बढी सुनको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । वैशाख महीनामा हुने विवाहजस्ता कार्यक्रमलाई लक्षित गरेर सुनको आयात बढाउँदा यस्तो देखिएको हो । नेपालमा वैशाख महीनामा पनि विवाहका कार्यक्रम बढी हुने गर्छन् । विवाहमा सुनका गरगहना लगाउने, उपहार स्वरूप सुनकै गरगहना आदानप्रदान गर्ने प्रचलन छ । त्यसका कारण नेपालमा यस समयमा सुनको खपत बढी हुन्छ । त्यसैले चैत महीनामा सुनको आयात बढी गर्दै आएको छ ।

वैशाखमा हुने विवाहलाई लक्षित गरेर चैतमा सुनको आयात बढाइएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । ‘विवाहको सिजनका कारण वैशाखमा सुनको खपत बढी हुन्छ । सोही अवस्थालाई दृष्टिगत गर्दै चैतमा सुनको आयात बढाएका हौं,’ उनले भने, ‘कोरोना विपद्का कारण लामो समयसम्म विवाहका कार्यक्रम पनि हुन सकेका थिएनन् । तर, यसपालि विवाहका कार्यक्रम व्यापक मात्रामा हुने अपेक्षा छ ।’

गत चैत २४ गतेदेखि वैशाखको पहिलो हप्तामा मात्रै ५०० केजीभन्दा बढी सुन आयात भएको उनको भनाइ छ । कोरोना प्रभाव नबढेमा अबका दिनमा सुनको व्यापार राम्रै हुने उनको अनुमान छ ।

गत चैतदेखि सुनको आयात परिमाण दैनिक १० केजीबाट बढाएर २० केजी पु¥याइएको छ । त्यसको असरले पनि सुनको आयात बढ्न सहयोग पुगेको हो ।

नेपालमा सुन आयात गर्न पाउने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । बैंकहरूले नेपाल सुनचाँदी व्यवसायी महासंघको सहकार्यमा सुन आयात गर्दै आएका छन् ।

चालू आवको चैतसम्म नेपालमा रू. १९ अर्ब ३१ करोड ६ लाख बराबरको सुन आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३ दशमलव ४६ प्रतिशतले बढी हो ।

गत आवको चैत मसान्तसम्म रू. १३ अर्ब ४६ करोडको सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार चालू आवमा नेपालमा २ हजार ७६० केजी सुन आयात भएको छ । यूएईबाट १७ अर्ब १८ करोड र टर्कीबाट २ अर्ब १३ करोड बराबरको सुन आयात भएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्र प्रभावित भई सुनको मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्पजस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो । त्यसैले चालू आवको शुरूको चरणमा सुनको आयात न्यून थियो । तर, पछिल्लो समय बजार खुलेर माग बढेपछि सुनको आयात बढ्दै गएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)