ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं उपत्यकामा १ साता निषेधाज्ञा

२०७८ बैशाख, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारी भयावह बन्दै जाँदा काठमाडौं उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिबाट लागू हुने गरी १ साताका लागि निषेधाज्ञा जारी गरेका छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको सोमवार बसेको संयुक्त बैठकले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइदेखि अत्यावश्यकबाहेकका क्षेत्रहरूमा कडाइ गरी निषेधाज्ञा जारी गरेको हो । वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने निषेधाज्ञाका समयमा सभासम्मेलन गर्न र सार्वजनिक एवं निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा बढीमा दुईजना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गरेका सवारीसाधनबाहेक अन्य सवारीसाधन काठमाडौंमा प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।

निषेधाज्ञा भर अन्तरराष्ट्रिय उडान भने बन्द हुने छैन । अन्तरराष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरूलाई सीधै एयरपोर्ट जाने सवारीसाधनका हकमा सहजीकरण गर्न सकिने प्रशासनले जारी गरेको आदेशमा भनिएको छ ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवाप्रदायक संस्थाको हकमा सम्बद्ध मन्त्रालय वा विभागको अनुमति लिई सवारीसाधन प्रयोग गर्न पाइनेछ । त्यस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेशन, फोहोरमैला व्यवस्थापनलगायत अत्यावश्यक सेवाका लागि भने सवारीसाधन सञ्चालन गर्न पाइनेछ । भीडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।

सर्वसाधारण नागरिकहरूलाई आवश्यक पर्ने खाद्य सामग्री किन्न बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम २ मीटरको भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बद्ध संस्थाले जारी गरेको प्रेसपासका आधारमा आवतजावत गर्न सक्ने भनिएको छ ।

काठमाडौं प्रवेश गर्ने व्यक्तिहरूले अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा बस्नुपर्नेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न उपत्यकाबाहिरबाट आउने व्यक्तिका लागि यस्तो नियम लागू गरेको हो । काठमाडौंमा सोमवार एकै दिनमा १५ सयभन्दा बढी संक्रमित भेटिएका थिए ।

सीसीएमसीको सिफारिश परिमार्जनसहित पारित
सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका विभिन्न सिफारिशलाई परिमार्जनसहित पारित गरेको छ ।

आन्तरिक उडान भने तत्काल नरोक्ने सरकारले निर्णय गरेको छ । बैठकले सीसीएमसीले वैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिश गरे पनि मन्त्रिपरिषद्ले अहिले यसबारे निर्णय नगरेको सरकारका एक मन्त्रीले बताए । उनका अनुसार अहिले स्वास्थ्य मापदण्डहरू पालना गरेर उडान यथावत् सञ्चालन गर्ने निर्णय भएको हो ।

सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिश पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिश पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । सरकारले सातै प्रदेशमा १/१ हजार बेड क्षमता रहेको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ भने संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन कसैले विदेशबाट अक्सिजन आयात गर्न चाहे भन्सार छूट दिने निर्णय पनि बैठकले गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)