ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ महीनामा वाणिज्य बैंकहरूले कमाए आधा खर्ब खुद नाफा*

आधा दर्जन बैंकको नाफा वृद्धि खुम्चियो

२०७८ बैशाख, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोभिड प्रभावित वर्ष भए पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरूले राम्रै नाफा कमाएका छन् । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरू तेस्रो त्रैमासको अन्त्यमा आइपुग्दा रू. ५० अर्ब ७४ करोड नाफा कमाउन सफल भएका छन् ।

कोभिड–१९ को चुनौती हुँदाहुँदै पनि बैंकहरूले गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा खुद नाफा १२ दशमलव १४ प्रतिशत वृद्धि गरेका छन् । यसअवधिमा बैंकहरूले करीब साढे ५ अर्ब रुपैयाँ थप कमाएका छन् । बैंकले यसअघि उठ्न बाँकी ब्याज (प्रोभिजनिङ) बाट र शेयर लगानीबाट आम्दानी गर्दा समग्रमा खुद नाफा बढ्न योगदान पुगेको बैंकरहरू बताउँछन् ।

यो वृद्धि गत आवको तेस्रो त्रैमासको तुलनामा राम्रो भएको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा बैंकहरूको खुद नाफा २ दशमलव ३६ प्रतिशतले मात्र बढेको थियो अर्थात रू. १ अर्ब ५ करोड मात्रा थप नाफा कमाएका थिए । त्यसअवधिमा खुद नाफा करीब रू. ४५ अर्ब थियो । यसको तुलनामा चालू आवमा सन्तोषजनक नाफा भएको बैंकरहरू बताउँछन् ।

बैंकहरूको आम्दानीको मुख्य स्रोत नै कर्जाको ब्याज र विभिन्न सेवा शुल्क हुन् । गत आवको तुलनामा यसपटक ब्याज आम्दानीभन्दा सेवा शुल्कको आम्दानी बढी देखिएको छ । बैंकहरूले चैतसम्ममा ९५ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । गत आवको सोहीअवधिमा यस्तो आम्दानी  ९८ अर्ब ८ करोड रुपैयाँ थियो ।

चालू आवको ९ महीनासम्ममा खुद शुल्क आम्दानी रू. १९ अर्ब ६३ करोड भएको बैंकको वित्तिय विवरणले देखीन्छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी रू. १७ अर्ब ७५ करोड थियो ।

यसपटक ६ अर्ब ६८ अर्ब कर्जा प्रवाह बढे पनि बैंकहरूको ब्याज आम्दानी घट्नुको कारण कर्जा–निक्षेप ब्याजदर अन्तर कम हुने हो । बैंकहरूको बीचमा तीव्र प्रतिस्पर्धा हुँदा कर्जा–निक्षेप ब्याजदर अन्तर घटेकाले समग्रमा बैंकहरूको ब्याज आम्दानी घटेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । ‘कर्जा प्रवाह बढेअनुसार ब्याज आम्दानी धेरै बढ्नुपथ्र्यो तर यसपटक बढेन ।’

आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार वाणिज्य बैंकको खुद नाफा (रू. हजारमा)

                                                                               स्रोत : सम्बद्ध बैंकले प्रकाशित गरेको वित्तीय प्रतिवेदन

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालका अनुसार अहिलेको नाफा बढ्नुको कारण प्रोभिजनिङमा रहेको रकम केही मात्रामा फिर्ता आउनु हो । ‘अब प्रोभिजनमा धेरै छैन, क्रमशः घट्दै छ । शेयरमा लगानी गरेकाले यसको आम्दानी बढ्दा समग्रमा नाफा बढेको देखिन्छ,’ उनले अभियानसँग भने ।

यसअवधिमा सानिमा बैंकले १८ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तुलनामा १४ दशमलव ६७ प्रतिशत अर्थात् २३ करोड ७४ लाख रुपैयाँ बढी हो ।

गत आवको चैतमा कोभिडको प्रभाव वित्तीय विवरणमा परेको बताउँदै उनले अब वैशाख १६ गतेदेखि भएको बन्दले पनि बैंकको आम्दानीमा प्रभाव पर्ने उनको भनाइ छ । ‘कोभिड लम्बिए धेरै असर गर्छ,’ उनले भने ।

तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा कमाउने मामलामा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा पनि यो बैंक अग्र स्थानमा थियो । जनता बैंकलाई प्राप्ति गरेको ग्लोबल आईएमई बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाउँदै नााफा आर्जनमा दोस्रो बनेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएर तेस्रो स्थानमा आएको छ । कर्जा प्रवाहमा अगाडि रहेको एनआईसी एशिया बैंकले भने रू ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएर चौथो स्थानमा रहेको छ ।

आधा दर्जन बैंकको नाफा घट्यो
प्रकाशित वित्तीय विवरणअनुसार आधा दर्जन वाणिज्य बैंकको खुद नाफा घटेको छ । वित्तीय विवरणअनुसार सेञ्चुरी बैंकको नाफामा सबैभन्दा ठूलो ह्रास आएको छ । यस बैंकको नाफा ६० दशमलव ८९ प्रतिशतले घटेर ३५ करोड ८१ लखमा सीमित भएको छ । गत आवको सो अवधिमा यस्तो नाफा रू ९१ करोड ५७ लाख रहेको थियो । मर्जरको कदम चाल्न लागेको हिमालयन बैंकको खुद नाफा ४४ दशमलव ४५ प्रतिशतले खुम्चिएको छ । तेस्रो त्रैमासमा रू. १ अर्ब २८ करोड नाफा गरेको छ । गत वर्ष २ अर्ब २१ करोडको नाफा गरेको थियो ।

नेपाल एसबीआई बैंकको खुद नाफा वृद्धि ३८ दशमलव ९१ प्रतिशतले घटेको छ । एभरेष्ट बैंकको ३५ दशमलव ९३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३४ दशमलव ३४ प्रतिशत र नेपाल क्रेडिट एन्ड कमर्श बैंकको ५ दशमलव ५५ प्रतिशतले खुद नाफा घटेको वित्तीय प्रतिवेदनले देखाएको छ ।

वितरणयोग्य नाफामा सुधार
खुद नाफा वृद्धि घटे पनि बैंकहरूको वितरण योग्य नाफामा भने संकुचन देखिएको छैन । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण्ण अनुसार २७ ओटै बैंकको वितरणयोग्य नाफा गत आवको भन्दा सुधारीएको छ । समग्रमा वाणिज्य बैंकको वितरणयोग्य नाफा ३५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत आव यस्तो नाफा १२ अर्ब रुपैयाँ मात्र थियो । अझ आधा दर्जन बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो ।

गतवर्ष ब्याज आम्दानी हुन नसकेपछि नाफा प्रभावित भएको थियो । उठ्न बाँकी आम्दानीलाई पनि एनएफआरएस प्रणालीमार्फत देखाउनुपर्ने भएकाले नाफा बढेको मात्र देखिएको थियो । तर, यसलाई लेखापद्धतिअनुसार वितरणयोग्य नाफामा देखाउन नमिलेर त्यस्तो देखिएको बैंकरहरूले बताएका थिए ।

*यसअघिको समाचार शिर्षकमा ९ महीनामा वाणिज्य बैंकहरूले कमाए आधा खर्ब खुद नाफा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)