पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँकी सन्तुमाया परियारलाई हिउँद लागेसँगै पानीको जोहो निकै मुश्किल पर्थ्यो । सबेरै उठेर आधा घण्टाको बाटो पानी बोक्न कुवामा पुग्नुपर्थ्यो । पालोमा बल्लबल्ल पानी भरेर फर्किंदा ९ बज्थ्योे । तर, अहिले विगत फेरिएको । दैलोमै धारा बनेपछि सन्तुमायालाई अब दुःखका दिन गए भन्ने लागेको छ ।
आँगनमा नयाँ धारो बनेपछि अबको एक महिनामा धारोमा पानी आउने खुशीले उनलाई चयनको निद्रा लाग्न थालेको छ । उनी जस्तै सरला परियार पनि आँगनमै धारो बनेपछि उत्साहित छिन् । फलेवास नगरपालिका–५ खानीगाउँमा अहिले घरैपिच्छे धारा बन्न थालेपछि सन्तुमाया र सरलाजस्तै ७०० घरपरिवारका गृहिणी खुशी छन् ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा खानीगाउँमा ‘एक घर एक धारा’ जडान हुन थालेको हो । यो योजनाका लागि गण्डकी प्रदेश सरकारले १ करोडभन्दा बढी रकम भुक्तानी दिइसकेको छ ।
खानेपानीको समस्यामा रहेका खान्ीगाउँवासीका लागि यो आयोजना वरदान सावित भएको खानीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष विक्रम जिसीले जानकारी दिए । आयोजनाको काम सक्न ७ करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको उनले बताए । आयोजनाले साविक खानीगाउँ गाविसको ९ नम्बर र खोलाखेत बाहेकका अन्य वडाहरूलाई समेट्नेछ । १४ किलोमिटरको टाढाबाट पाइपमार्फत गाउँमा ल्याइएको पानी संकलन गर्न ४ वटा फिल्टर र रिजर्भेसन ट्यांकी निर्माण गरिएको छ ।
यस योजना सम्पन्न भएपछि यहाँका ७०० घरपरिवार लाभान्वित हुनेछन् । हालसम्म ३५० घरमा धारा निर्माण गरिसकिएको छ । आयोजनाको काम हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको दाबी उपभोक्ता समितिको छ ।
जिल्लाको समथर भूभाग मानिएको फलेवास क्षेत्रमा खानेपानीको गतिलो स्रोत नहुँदा विशेषतः चैत, वैशाख र जेठमा खानेपानीको चरम अभाव हुने गरेको छ । हिउँदमा भएको स्रोत समेत सुक्दा खानेपानीकै लागि घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ ।