ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजीक्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिइने

२०७८ बैशाख, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा समितिले नेपाली बीमा बजारमा थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिने भएको छ । समितिले निजीक्षेत्रबाट थप एक पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाउन इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाबाट विस्तृत प्रस्ताव पेश गर्न बिहीवार आह्वान गरेको छ ।

योसँगै अब नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न इच्छुक व्यक्ति तथा संस्थाले तोकिएको मापदण्ड पूरा गरेर २१ दिनभित्र समितिमा प्रस्ताव पेश गर्नुपर्नेछ । त्यसपछि प्राप्त आवेदनको आधारमा कुनै एक पुनर्बीमा कम्पनीलाई स्थापनाका लागि सैद्धान्तिक स्वीकृति दिइने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक देखिएपछि निजीक्षेत्रबाट थप एक कम्पनी स्थापना प्रक्रिया अगाडि बढाइएको सिलवालको भनाइ छ ।

यद्यपि, बजारमा भने बिभिन्न व्यावसायिक घरना तथा व्यवसायीबाट चार पुनर्बीमा कम्पनी स्थापनाको तयारी भइरहेको छ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पटक पटक नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्नुपर्ने बताउँदै आएका थिए । त्यसपछि बीमा समितिले पनि यस विषयमा गत फागुनमा समिति नै बनाएर अध्ययन गरेको थियो । सो अध्ययनले हाललाई नेपालमा थप एक पुनर्बीमा कम्पनीको आवश्यकता देखाएको थियो ।

विशेषगरी समितिले यस विषयमा अध्ययन अगाडि बढाएपछि नै बजारमा विभिन्न व्यावसायिक घराना तथा व्यक्ति अन्नपूर्ण री, काठमाडौं री, प्रुडेन्सियल री र जेन्युन री नाममा चार पुनर्बीमा कम्पनी स्थापनाका लागि आवेदन दिन तयारी अवस्थामा बसेका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले एक पुनर्बीमा कम्पनी मात्र स्थापना गर्न दिइने बताए । बजारमा भइरहेका तयारीको आधारमा निर्णय नगरिने उनको भनाइ छ । ‘अध्ययनले थप एक मात्र पुनर्बीमा कम्पनी स्थापना गर्नुपर्ने देखाएको छ । त्यो अवस्थामा यसको संख्या बढाउन सक्दैनौं,’ उनले भने, ‘यस अवस्थामा प्रस्ताविक सबै पुनर्बीमा कम्पनीका प्रस्तावकहरू एक भएर आउनुभयो भने राम्रो हुन्छ ।’

यस्तै, समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि विभिन्न शर्तहरू पनि तोकेको छ । निर्धारित शर्त पूरा गरेको संस्थाले मात्र नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिन पाउने बताइएको छ ।

विशेषगरी प्रस्तावित पुनर्बीमा कम्पनीको चुक्तापूँजी कम्तीमा १० अर्ब रुपैयाँ हुनुपर्नेछ । तर, हाल सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ता भने प्रस्तावित कम्पनीको लगानीकर्ता तथा प्रस्तावक हुन पाउने छैनन् । उनीहरूबाट यस्तो प्रस्ताव आएमा त्यो स्वतः अमान्य हुने समितिको भनाइ छ ।  

यसरी आउने प्रस्तावहरूलाई समिति विभिन्न मूल्यांकनका आधारमा नम्बर प्रदान गर्नेछ । सो क्रममा जसले बढी अंक प्राप्त गर्छ, उसैलाई सैद्धान्तिक स्वीकृति दिइने समितिको भनाइ छ ।

अब प्रस्तावकहरूले तोकिएको अवधिमा समितिमा प्रस्तावित पुनर्बीमा कम्पनी स्थापनाका लागि आवेदन दिनुपर्नेछ । आवेदन भने निःशुल्क रूपमै दिन सकिनेछ । साथै, हाल कोरोना भाइरस नियन्त्रण गर्न राजधानी लगायत ठाउँमा निषेधाज्ञा लगाएपछि आवेदन दिने अवधिमा कुनै परिवर्तन गर्न नसकिने अध्यक्ष सिलवालले बताए । ‘अहिले कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा लगाए पनि हामीले सुरक्षाका मापदण्ड अपानाएर कार्यालय सञ्चालन गरिरहेका छौं । त्यो अवस्थामा प्रस्तावकहरू आएर नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिन सक्नेछ,’उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)