पर्वत । पर्वतमा भूकम्पले भत्किएका ७९ ओटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा), पर्वतका अनुसार जिल्लामा भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म निर्माण सम्पन्न भएका र दोस्रो चरणमा सम्झौता भएका विद्यालयको काम अन्तिम चरणमा रहेको कार्यालयले बताएको छ । कार्यालयले अहिलेसम्म ७० प्रतिशत प्रगति भएको जानकारी दिएको छ ।
भूकम्प गएको ६ वर्षमा कार्यालयले विद्यालयको पुनर्निर्माण तीव्ररूपमा अगाडि बढेको बताएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त १५३ ओटा विद्यालयको पुनर्निर्माण, ४४ ओटा विद्यालयको शौचालय र ४१ ओटा विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ ।
कार्यालय प्रमुख युक्तप्रसाद शर्माले कोरोना संक्रमणका कारण गतवर्ष काम गर्न समस्या भए पनि यस वर्ष कामले गति लिएको बताए । यद्यपि कोरोना संक्रमण फैलिएपछि पुनः समस्या हुन थालेको उनको भनाइ छ । पुनर्निर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने÷नथपिने निश्चित नभएकाले सकेसम्म पुसभित्रै सबै काम सक्ने हतारो रहेको शर्माले बताए ।
जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० ओटा विद्यालयमा दुईकोठे, चारओटा विद्यालयमा तीनकोठे र ३९ ओटा विद्यालयमा दुईकोठे भवन निर्माणको सम्झौता भएको थियो । अधिकांश विद्यालयको पुनर्निर्माणको प्रगति ७० प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताए ।
भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई मुख्य प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनर्निर्माण गर्नेगरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोही अनुसार विद्यालयका भवन पुनर्निर्माण भइरहेको कार्यालयले बताएको छ । भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणपछि पठनपाठनमा सहज भएको जनसहयोगी मावि फलेवासका प्रअ गणेशबहादुर थापाले बताए ।