ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना उपचारमा सरकारको आत्मसमर्पण : ‘सरकारले जिम्मेवारी लिनुको साटो त्रास फैलायो’

२०७८ बैशाख, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या उपलब्ध गराउन नसकिने भन्दै हात उठाएको छ । यसमा सर्वसाधारण तथा जनस्वास्थ्यविद्हरूले समेत आक्रोश र आपत्ति व्यक्त गरेका छन् ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्दै थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार हेरचाहका लागि शय्या उपलब्ध गराउन नसक्ने बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा २२ ओटा जिल्लामा कोरोना संक्रमणको दर डरलाग्दो गरी बढेकाले श्य्या उपलब्ध गराउन नसकिने भन्दै नागरिक आफै संवेदनशील हुन भनिएको छ ।

नेपालमा कोरोना संक्रमण र यसका कारण हुने मृत्युदर बढ्दै गएको छ । गएको १ सातामा मात्रै कोरोनाका कारण १६२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमित हुनेको संख्या ५ हजार नाघिरहेको छ । अघिल्लो वर्ष मङ्सिरपछि विस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई दोहोरो अंकमा झरेकामा चैतबाट दोस्रो लहर शुरू भएको संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय कोरोनाको संक्रमण द्रुतगतिमा युवा पुस्तामा समेत फैलिरहेको छ । अघिल्लो वर्ष देखिएको कोरोनामा विशेक्ष गरी वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएकोमा अहिले नयाँ भेरिएन्टको संक्रमण युवा र किशोरहरूमा समेत बढी नै देखिएको छ । ‘भर्खरका युवाहरू पनि गम्भीर बिरामी भएर अक्सिजनको सहायताले उपचार गर्नु परिरहेको छ, अबका केही दिन चुनौतीपूर्ण हुने भएकाले सरकार तथा नागरिक सबै मिलेर कोरोनाविरुद्ध लड्नुपर्नेछ,’ उनले भने ।

संक्रमण बढ्दै गएको संकटको घडीमा सरकारले शय्या उपलब्ध गराउन नसक्ने भनी गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा चौतर्फी आलोचना भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले विज्ञप्ति निकाल्दै सरकारको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवार बताउँदै नागरिकको जीवनप्रति खेलबाड गरेको आरोप लगाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमार्फत कांग्रेसले बेड छैन भन्नु लाचार र लज्जास्पद अभिव्यक्ति भएको भन्दै युद्धस्तरमा समाधान खोज्न अपील गरेको छ ।

जनस्वास्थ्यविद् डा. समीरमान दीक्षित राज्यको कुनै पनि निकायले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताउँछन् । राज्यको काम नै यस्ता संकटका बेला काम गर्ने भएकाले नागरिक आतंकित पार्ने नभएर समाधान खोज्नतर्पm लाग्नुपर्ने उनको भनाइ छ । ‘राज्यले सबै काम गर्न सक्दैन हामी बुझ्छौं तर जे मन लाग्यो त्यही बोल्दिन भएन,’ उनले भने, ‘राज्यको यो अभिव्यक्ति नागरिकलाई मूर्ख ठानेर दिएको अभिव्यक्ति हो जस्तो मलाई लाग्छ ।’

उनले विद्यालय, कलेज जहाँ पनि अस्थायी संरचना निर्माण गरेर कोभिड बिरामीको उपचार गर्न सकिने बताए । ‘सरकारले निषेधाज्ञा गरेको छ तर यो निषेधाज्ञा गर्नु भनेको सुतेर बस्नका लागि होइन, तयारी गर्नुपर्‍यो,’ उनले भने, ‘भारतले अबको १ महीनामा संक्रमण घट्दै जाने प्रक्षेपण गरेको छ, त्यसैगरी अध्ययन गरेर त्यसअनुसार तयारी गनुपर्छ ।’ उनले अहिलेको समस्या बेड र अक्सिजन भएकाले त्यसको उपलब्धताका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोगका विशेषज्ञ डा. शेरबहादुर पुन सरकारले यसरी हात उठाउन नमिल्ने बताउँछन् । हामीसँग तयारीका लागि १ वर्ष लामो समय भए पनि यो बीचमा तयारी नगरिनु समस्या भएको उनको भनाइ छ ।

अब छोटो समयमै स्थायी संरचना बनाएर राख्नका लागि समय नभएको र त्यो सम्भव नभएकाले अस्थायी संरचना बनाएर उपचार गर्नुपर्ने उनी बताउँछन् । ‘खालि ठाउँमा अस्थायी संरचना बनाएर र अन्य देशबाट पनि सहायता लिएर उपचार गर्न सकिन्छ,’ उनले भने, ‘अक्सिजन व्यवसायीहरूले अक्सिजनको अभाव नहुने बताइरहेका बेला आवश्यक सिलिन्डरको व्यवस्था गरी अस्थायी संरचना निर्माण गरी उपचार गर्नुपर्छ ।’ कोरोना अत्यन्तै बढ्दा अन्य देशमा पनि यस किसिमको सफल अभ्यास भएकाले हात उठाएर बस्ने नभई यसमा गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।

कोरोना देखिँदैमा अस्पतालमै भर्ना गर्नु नपर्ने चेतना फैलाएर गम्भीर प्रकृतिका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने उनले बताए । ‘यो दोस्रो लहरको शुरुआती अवस्था मात्र हो, शुरूमै बेड छैन भनेर अभिव्यक्ति दिने होइन तयारीमा लाग्नुपर्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)