ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा १८ ओटा जलविद्युत् आयोजना निर्माण हुँदै

२०७८ बैशाख, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख २१, म्याग्दी । ‘हाइड्रो हब’ का नामले समेत परिचित हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलाहरुमा १८ ओटा जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।

म्याग्दीका प्रमुख नदीहरु कालिगण्डकी, रघुगंगा, म्याग्दी नदी र खोलाहरुबाट १८ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । निर्माणाधीन १८ ओटा जलविद्युत् आयोजनामा ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको छ ।

जिल्लाका दुई ओटा विद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । 

त्यसैगरी, घलेम्दी हाइड्रो लिमिटेडद्वारा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेको छ । त्यसैगरी नारच्याङको मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ परीक्षणको अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भइसकेका यी तीन जलविद्युत् आयोजनाबाट ४९ मेगावाट विद्युत् उत्पादन भएको छ ।

निर्माण सम्पन्न भइसकेका यी तीनओटा जलविद्युत् आयोजना बाहेक अन्य १५ ओटा जलविद्युत् आयोजनाहरु केही निर्माणाधीन अवस्थामा रहेका छन् भने केही आयोजना निर्माणको चरणमा प्रवेश गरेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रवहादुर केसीले बताए ।

समन्वय समितिका प्रमुख केसीका अनुसार कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीहरूबाट समेत विद्युत् उत्पादनका लागि १५ ओटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् ।

उनका अनुसार निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेगावाटको निलगिरि जलविद्युत् आयोजना, ७१ मेगावाटको निलगिरि २, हाइड्रो सपोर्ट प्रालिले दानामा ५३ दशमलव ५ मेगावाटको मध्यकालिगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेगावाटको, हिम कन्सल्टले नारच्याङमा ६ मेगावाटको रेले खोला जलविद्युत् आयोजना, कालिगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले ४ मेगावाटको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।

त्यस्तै, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना, ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, तुदी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले, तुदी पावर कम्पनीले नै ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गरेका छन् ।

म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३ दशमलव ५ मेगावाटको अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् । 

जिल्लामा उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ ।

अर्बौको लगानीमा निर्माण हुने यी जलविद्युत् आयोजनाका कारण जिल्लामा सयौ व्यक्तिहरुले रोजगारी समेत पाएका छन् भने सामुदायिक विकासको लहर समेत चलेको जनप्रतिनिधिहरुले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)