ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१ वर्षमा वाणिज्य बैंकहरूको निक्षेप रू. ७ खर्ब ७३ अर्ब बढ्यो

२०७८ बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोभिड–१९ शुरू भएको १ वर्षको अवधिमा वाणिज्य बैंकहरूले खर्बौंको निक्षेप संकलन वृद्धि गर्न सफल भएका छन् । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष (आव) को चैतदेखि चालू आवको चैतसम्ममा सर्वसाधारण, अन्य विकास बैंक, वित्त कम्पनी, लघुवित्त, बीमा, गैरबैंकिङ संस्थालगायतबाट थप रू. ७ खर्ब ७३ अर्ब १० करोड निक्षेप संकलन गरेका छन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निक्षेप २४ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चैतसम्ममा कुल निक्षेप संकलन ३९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कुल निक्षेप ३२ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो ।

बैंकहरूको निक्षेप वृद्धि उत्साहजनक मान्नुपर्ने बैंकरहरू बताउँछन् । २६ ओटा वाणिज्य बैंकको निक्षेप वृद्धि उत्साहजनक भए पनि स्ट्यान्डर्ड चार्टर्डले भने सोही अनुपातमा थप निक्षेप बढाउन नसकेको देखिन्छ । स्ट्यान्डर्डले चालू आवको चैतसम्ममा रू. ८४ अर्ब १० करोड २१ लाख ७३ हजार बराबरको कुल निक्षेप संकलन गरेको छ । यो निक्षेप गत आवको चैतको तुलनामा २ अर्ब ५ करोड रुपैयाँले कम हो । गत आवको चैतसम्ममा चार्टर्डले रू. ८६ अर्ब १४ करोड ८४ लाख रुपैयाँको हाराहारीमा कुल निक्षेप संकलन गरेको थियो ।

चालू आवको चैतसम्म निक्षेप संकलनमा एनआईसी एशिया, मेगा र सिटिजन्स बैंक अग्र स्थानमा देखिएका छन् । सबैभन्दा बढी निक्षेप रकम संकलन गरेको एनआईसी बैंकले ९९ अर्ब ७९ करोड रुपैयाँ निक्षेप बढाएको छ । कर्जा प्रवाहमा पनि आक्रामक देखिएको यस बैंकले थप निक्षेप बढाएर कुल निक्षेप २ खर्ब ९६ अर्ब रुपैयाँ पु¥याएको छ । गतवर्ष कुल निक्षेप १ खर्ब ९६ अर्ब रुपैयाँ थियो ।

संस्थागत निक्षेपका कारण निक्षेपमा उत्साहजनक वृद्धि भएको एनआईसी एशिया बैंकका जनसम्पर्क विभाग अर्जुनराज खनियाँको भनाइ छ । उनका अनुसार शाखा सञ्जाल धेरै भएकाले पनि धेरै निक्षेप संकलन भएको हो । ‘हामीसँग शाखा सञ्जाल र ग्राहक धेरै छन् । संस्थाहरूसँग हामीले धेरै प्रस्ताव गरेर कोभिड अवधिमा धेरै निक्षेप ल्यायौं । बचत खाता र चालू खाता पनि धेरै बढायौं । यसकारण निक्षेप रकम बढाउन सकेका हौं,’ उनले भने ।

दोस्रो बढी निक्षेप रकम संकलन गर्नेमा मेगा बैंक रहेको छ । मेगाले चालू आवको चैतसम्ममा ५५ अर्ब ९४ करोड रुपैयाँ बराबरको थप निक्षेप संकलन गरेको छ । गत आवको चैतमा रू. ९१ अर्ब कुल निक्षेप थियो । अहिलेको चैतमा  १ खर्ब ४७ अर्ब रुपैयाँ छ । निक्षेप वृद्धिसँगै कर्जा वृद्धिमा समेत बैंक अगाडि देखिएको छ ।

मेगा बैंकको निक्षेप बढ्नुको कारण मर्जर भएको बैंकका वरिष्ठ महाप्रबन्धक तथा प्रवक्ता तुलसीराम पोखरेलले बताए । ‘हामीले शाखा सञ्जाल विस्तार खासै गरेका छैनौं तर मर्जरबाट ९६ ओटा शाखा थपिएर २ सय ७ ओटा पुगेका छन्,’ उनले अभियानसँग भने । बैंकले संकलित स्रोतलाई अत्यधिक प्रयोग गरेकाले अहिले तरलता कसिलो भएको उनको भनाइ छ ।

सटिजन्स बैंकले रू. ४५ अर्ब २१ करोडले निक्षेप थपेर कुल निक्षेप १ खर्ब ३२ अर्ब रुपैयाँ पु¥याएको छ । बढी निक्षेप संकलन गर्नेमा यो बैंक तेस्रो हो । गत आवको चैतमा रू. ८६ अर्ब निक्षेप रहेको थियो । बढी निक्षेप रकम संकलन गर्ने अर्को बैंक प्रभु हो । प्रभुले ४४ अर्ब ८८ करोड रुपैयाँ थपेर कुल १ खर्ब ६७ अर्ब निक्षेप पुर्‍याएको छ ।

गत आवको चैतमा १ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थियो । राष्ट्रिय वाणिज्य बैंकले ४३ अर्ब ४७ करोड, कुमारी बैंकले ४३ अर्ब १२ करोड, नबिलले ४० अर्ब ९४ करोड, ग्लोबल आईएमईले ४० अर्ब ५३ करोड, सिद्धार्थले ३३ अर्ब ३४ करोड, एनएमबीले साढे ३२ अर्ब, सिभिलले ३२ अर्ब ४८ करोड र नेपाल क्रेडिट एन्ड कमर्श बैंकले ३० अर्ब ६२ करोड रुपैयाँ थप निक्षेप संकलन गरेका छन् । यसबाहेकका बैंकले ३० अर्बभन्दा कम निक्षेप संकलन गरेका छन् ।

प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी निक्षेप मेगा बैंकले थपेको छ । उसको निक्षेप वृद्धि ६१ दशमलव १७ प्रतिशतले भएको देखिन्छ । निक्षेप वृद्धिदर बढी हुने दोस्रो बैंकमा सिभिल रहेको छ । यसले ५८ दशमलव १८ प्रतिशतले निक्षेप वृद्धि गरेको छ । सिभिलले वाणिज्य बैंकमध्येकै सबैभन्दा राम्रो ब्याजदर कायम गरेकाले निक्षेपकर्ताहरू आकर्षित भएको बताएको छ ।

तेस्रो बढी निक्षेप वृद्धि गर्नेमा सिटिजन्स बैंक रहेको छ । बैंकले ५२ दशमलव ३० प्रतिशतले निक्षेप संकलन वृद्धि गरेर १ खर्ब ३२ अर्ब रुपैयाँ पु¥याएको छ । एनआईसी एशियाले ५० दशमलव ९४ प्रतिशतले निक्षेप वृद्धि गरेको छ । कुमारी बैंकले ४३ दशमलव शून्य ६ प्रतिशत, नेपाल क्रेडिट एन्ड कमर्श बैंकले ४१ दशमलव ११ प्रतिशत, सेञ्चुरी बैंकले ३८ दशमलव ९५ प्रतिशत र प्रभु बैंकले ३६ दशमलव ६१ प्रतिशतले थप निक्षेप संकलन गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)