ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तेस्रो त्रैमाससम्ममा १९ वाणिज्य बैंकको निष्क्रिय कर्जा नियन्त्रणमा

२०७८ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं ।  अधिकांश व्यवसाय क्रमशः विस्तार हुन थालेपछि अधिकांश वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) नियन्त्रणमा आएको छ ।

आर्थिक वर्ष (आव) २०७६/७७ चैतको तुलनामा आव २०७७/७८ को सोही अवधिमा समग्र बैंकहरूको एनपीएल औसत शून्य दशमलव २८ प्रतिशत विन्दुले घटेर औसत १ दशमलव ३८ प्रतिशतमा सीमित रहेको छ ।  गत आवको यही अवधिमा एनपीएल औसत १ दशमलव ६६ प्रतिशत रहेको थियो ।

गत आवको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १९ ओटा बैंकको एनपीएल (नन पर्फर्मिङ लोन) नियन्त्रणमा आएको छ । तर, आठओटा बैंकको भने निष्क्रिय कर्जा बढेको छ ।

सबैभन्दा बढी एनपीएल सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको रहेको छ । चालू आवको चैतसम्ममा राष्ट्रिय वाणिज्य बैंकको एनपीएल ३ दशमलव ६२ प्रतिशत र कृषि विकासको ३ दशमलव शून्य ८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिको तुलनामा एनपीएल क्रमशः शून्य दशमलव शून्य ३ प्रतिशत विन्दु र शून्य दशमलव ५७ प्रतिशत विन्दुले घटेको छ ।

एनपीएल घटे पनि २ प्रतिशतदेखि ३ प्रतिशतसम्मको बीचमा रहेका बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श बैंक रहेका छन् । यही सीमामा एनपीएल रहे पनि सेञ्चुरी बैंकको गत आवको चैतको भन्दा शून्य दशमलव ७७ प्रतिशत विन्दुले बढेर २ दशमलव ९६ प्रतिशतमा पुगेको छ ।

१ प्रतिशतदेखि २ प्रतिशतको बीचमा एनपीएल रहेका बैंक १० ओटा छन् । तिनमा एनएमबी, सनराइज, नेपाल बंगलादेश, सिटिजन्स, ग्लोबल आईएमई, प्रभु, मेगा, सिभिल, कुमारी र बैंक अफ काठमाडौं रहेका छन् ।

चालू आवको चैतसम्ममा सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको रहेको छ । बैंकको एनपीएल शून्य दशमलव १२ प्रतिशत मात्र रहेको छ । गत आव यसको एनपीएल शून्य दशमलव २० प्रतिशत रहेको थियो ।

दोस्रो कम एनपीएल सानिमा बैंकको रहेको छ । यसको एनपीएल शून्य दशमलव २१ प्रतिशतमा सीमित छ । यी ११ बैंकको एनपीएल १ प्रतिशतभन्दा कम रहेको छ । नेपाल एसबीआई, एनआईसी एशिया, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, लक्ष्मी, हिमालयन, प्राइम र सिद्धार्थ बैंकको एनपीएल पनि १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रोभिजनिङमा राखेको कम उठेकाले अधिकांश बैंकको एनपीएल नियन्त्रणमा आएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । ‘गत कात्तिक, मङ्सिरदेखि राम्रो कारोबार भएको र असल ऋणीहरू आएकाले एनपीएल नियन्त्रणमा आउन सकेको हो,’ उनले अभियानसँग भने, ‘यसबीच असल कर्जा आए पनि हामीले १ प्रतिशत अनिवार्य रूपमा प्रोभिजनिङ गर्नैपर्छ ।

चैतसम्म १ अर्ब २१ करोड रुपैयाँ मात्रै प्रोभिजनमा छ । ५ अर्ब ४७ करोड रुपैयाँ पूरै उठेको छ ।’ तर, कोभिडको दोस्रो लहर कहिलेसम्म रहन्छ त्यसमा अबको व्यवसाय भर पर्ने उनले बताए ।

चालू आवको ९ महीनासम्ममा अधिकांश बैंकहरूको निष्क्रिय कर्जा नियन्त्रणमा आए पनि सिटिजन्स, सेञ्चुरी, सनराइज, ग्लोबल आईएमई, स्ट्यान्डर्ड चार्टर्ड, कुमारी, माछापुच्छ्रे र नेपाल एसबीआईको एनपीएल भने बढेको सम्बद्ध बैंकहरूको तेस्रो त्रैमासिक प्रतिवेदनमा उल्लेख छ ।

यी बैंकहरूको एनपीएल शून्य दशमलव शून्य ४ प्रतिशत विन्दुदेखि शून्य दशमलव ८६ प्रतिशत विन्दुसम्म बढेको छ । त्यस अवधिमा सबैभन्दा बढी सिटिजन्स बैंकको एनपीएल बढेको देखिन्छ । गत आवको चैतमा शून्य दशमलव ९७ प्रतिशत एनपीएल भएको सिटिजन्सको चालू आवको यही अवधिमा शून्य दशमलव ८६ प्रतिशत विन्दुले बढेर १ दशमलव ८३ प्रतिशत पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल दुईओटा संस्थालाई प्राप्ति गरेकाले एनपीएल बढ्न गएको बताउँछन् । उनका अनुसार सिटिजन्सको कोर एनपीएल नियन्त्रणमा छ । ‘अब त्यो एनपीएल पनि रिकभरी भइहाल्छ । आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने ।

समग्रमा पछिल्लो समय बैंकहरूको एनपीएल अधिक भने छैन । नेपाल राष्ट्र बैंकले बैंकको कुल कर्जाको ५ प्रतिशत माथि कर्जा खराब हुन थाले मात्र समस्याग्रस्त घोषणा गर्ने गर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)