ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनीमा निषेधाज्ञा : धवलागिरि गाउँपालिकाको सेवा बन्द

२०७८ बैशाख, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । समुदाय स्तरमै कोरोना संक्रमणको दर बढेपछि म्याग्दीमा बुधबार राती १२ बजेदेखि १० दिने निषेधाज्ञा जारी भएको छ । धवलागिरि गाउँपालिकामा पनि  समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्वारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रमार्फत प्रवाह हुने नियमित सेवा बन्द गरिएको जनाइएको छ ।

यसअघि विद्यालयमा भौतिक रुपमा उपस्थित भई पठनपाठन बन्द गरिएकामा कोरोनाको जोखिम न्यूनीकरण नभएपछि थप कदम चालिएको गाउँपालिकाले बताएको छ ।

गाउँपालिकाले नागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन र स्यानिटाइज गर्ने कार्यमा जोड दिन आग्रह गरेको छ ।

गाउँपालिकाले नागरिकलाई भीडभाड नगर्न, काजकिरिया, जन्ती, मलामी तथा अन्य सांस्कृतिक कार्यमा समेत भिड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न, विदेशबाट र जोखिमयुक्त ठाउँबाट आएकालाई १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्न र लक्षण देखिए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनसमेत सुझाइएको छ ।

बुधवार ताकममा गरिएको एन्टिजिन परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका अनुसार धवलागिरिमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ४ जना बेनीका छन् भने अन्य आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् ।

म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बेनी अस्पतालमा उपचार गराउन आएका र लक्षण देखिएका ४२ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकामध्ये २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संख्याको संक्रमण म्याग्दीमा अहिलेसम्मकै बढी हो । संक्रमितमध्ये बेनी नगरपालिकाका १७, धवलागिरि गाउँपालिका ६, मंगला गाउँपालिका १, मालिका गाउँपालिकाका १, रघुगंगा गाउँपालिकाका र छिमेकी जलजला गाउँपालिकाका ३ जना रहेका छन् ।

सबै संक्रमतिको स्वाब बेनी अस्पतालमा संकलन गरी पिसिआरका लागि पोखरा पठाइएको थियो ।

योसँगै म्याग्दीमा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लाभित्र हालसम्म ३ सय ४६ जनालाई कोरोना संक्रमण भएकामा दोस्रो लहरमा संक्रमति हुनेको संख्यासमेत १ सय नाघेको छ ।

संक्रमितमध्ये अधिकांश सदरमुकाम बेनी आसपासका र केही ग्रामीण क्षेत्रका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि सदरमुकाम बेनीको अवस्था भयावह बन्दै गएको छ ।

दोस्रो लहरमा संक्रमति हुनेहरू बाहिरी जिल्लाबाट आएका रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । ‘समुदाय स्तरमै कोरोना फैलिएको छ । हामीले अनुमान गरेभन्दा बाहिरको अवस्था आउन सक्छ,’ प्रमुख लम्सालले भने ।

समुदाय स्तरमै संक्रमण फैलिइसकेको अवस्थामा सतर्कता अपनाउन अपिल गरिए पनि सर्वसाधारणबाट पालना नभएकाले म्याग्दीमा संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)