ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१८ प्रतिशतले बढ्यो निर्जीवन बीमा व्यवसाय

२०७८ बैशाख, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निजीक्षेत्रका निर्जीवन बीमा कम्पनीले रू. २३ अर्ब २ करोड बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये निजीक्षेत्रका १९ निर्जीवन बीमा कम्पनीले ९ महीनामा उक्त बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ । समितिका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने उक्त अवधिको विवरण पेश गरेको छैन ।

कोरोना कहरका बीच पनि समीक्षा अवधिमा बीमाशुल्क संकलन करीब १८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा उक्त कम्पनीहरूले रू. १९ अर्ब ५१ करोड बीमाशुल्क संकलन गरेका थिए । कोरोना कहर र विगतमा लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा यस्तो बीमाको व्यवसायमा सुधार आएको कम्पनीहरूको भनाइ छ ।

विशेषगरी बैंकबाट कर्जा प्रवाह बढ्दा निर्जीवन बीमाको व्यवसाय बढेको एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले बताए । बैंकबाट कर्जा लिएर गरिने व्यवसाय तथा बनाइने घरहरूको अनिवार्य रूपमा बीमा गर्नुपर्ने हुन्छ । सो अवस्थामा बैंकबाट कर्जा प्रवाह बढ्दा निर्जीवन बीमाको व्यवसाय उत्साहजनक रूपमा बढेको पन्तको भनाइ छ ।

‘कोरोना कहरको बीच पनि समीक्षा अवधिमा निर्जीवन बीमाको व्यवसाय बढेको छ । यसको मुख्य कारण बैंकको कर्जा प्रवाह बढ्नु हो,’ उनले भने, ‘साथै, बीमायोग्य सम्पत्तिको बीमा र नयाँ व्यवसाय पनि भइरहेको छ । यसले पनि व्यवसाय बढेको हो ।’

अबका दिनमा भने निर्जीवन बीमा व्यवसायको कस्तो हुन्छ भन्ने आकलन नगरिएको उनको भनाइ छ । ‘कोरोनाको दोस्रो लहर शुरू भएसँगै अहिले राजधानी सहित विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । यसको असर पक्कै पनि व्यवसायमा देखिन्छ,’ उनले भने, ‘यद्यपि, नवीकरण गरिने बीमालेखमा समस्या आउँदैन । अनलाइनमार्फत नै गर्न सकिन्छ । पहिले लकडाउन हुँदा पनि नवीकरण व्यवसाय त्यति प्रभावित भएको थिएन । तर, नयाँ व्यवसायमा भने असर गर्ने देखिएको छ ।’

समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । उक्त कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले रू. १ अर्ब ९९ करोड र तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले रू. १ अर्ब ९५ करोड बीमाशुल्क संकलन गरेको छ । ३ वर्षअघि सञ्चालनमा आएका तीन निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स अगाडि देखिएको छ । उक्त कम्पनीले रू. ९९ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, जनरल इन्स्योरेन्सले रू. ५२ करोड र सानिमा जनरलले रू. ४६ करोड बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)