ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको दोस्रो लहर : वैदेशिक रोजगारीमा पर्ने असरबारे अध्ययन गर्दै सरकार

२०७८ बैशाख, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सरकारले कोरोना भाइरसको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा पर्ने असरबारे अध्ययन अगाडि बढाएको छ । कोरोनाको पहिलो लहरले पनि वैदेशिक रोजगारी प्रभावित भएको थियो । अहिले कोरोनाको दोस्रो लहर शुरू भएसँगै यसले पनि वैदेशिक रोजगारी प्रभावित हुने भएपछि सरकारले यस सम्बन्धमा अध्ययन अगाडि बढाएको हो ।

वैदेशिक रोजगार विभागले यस सम्बन्धमा अध्ययन अगाडि बढाएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोरोनाको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा परेको असरबारे अध्ययन अगाडि बढाएको बताए । परराष्ट्र मन्त्रालय र म्यानपावर व्यवसायीहरूको संगठनसँगको सहकार्यमा अध्ययन अगाडि बढाइएको उनको भनाइ छ । विभागले परराष्ट्रय मन्त्रालयलाई श्रम गन्तव्य मुलुकका दूतावासबाट वैदेशिक रोजगारीमा परेको असरबारे विवरण संकलन गरिदिन अनुरोध गरेको छ । साथै, म्यानपावर व्यवसायीहरूबाट पनि यससम्बन्धी आवश्यक विवरण तथा तथ्यांकहरू मगाइएको विभागको भनाइ छ ।

‘कोरोनाको दोस्रो लहरले श्रम गन्तव्य मुलुकको अवस्था के छ ? विदेशमा रहेका नेपाली कामदारलाई के कस्तो असर भएको छ ? उनीहरूको अवस्था के छ ? यी यस्ता विषयमा श्रम गन्तव्य मुलुकका दूतावासबाट आवश्यक विवरण उपलब्ध गराउन परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेका छौं,’ उनले भने, ‘साथै, म्यानपावर व्यवसायीबाट पनि यससम्बन्धी तथ्यांक मगाएका छौं । उनीहरूबाट तथ्यांक प्राप्त भएपछि थप अध्ययन तथा छलफल गरेर निचोडमा पुग्ने छौं ।’

अध्ययनपश्चात् वैदेशिक रोजगारीसम्बन्धी आवश्यक नीतिगत व्यवस्था तथा सुधार गर्न सकिने उनको भनाइ छ । साथै, राहत आवश्यक परेमा पनि सम्बद्ध मन्त्रालय तथा निकायहरूलाई सिफारिश गरिने दवाडीको भनाइ छ ।

कोरोनोको दोस्रो लहर शुरू भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थालेको छ । श्रम गन्तव्य मुुलुकहरूबाट कामदारको माग पनि घट्दै गएको महानिर्देशक दवाडीले बताए । ‘बिहीवार रातिबाट अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि बुधवार र बिहीवार विदेशिने कामदारको संख्या बढी थियो । तर, पछिल्लो समय विदेशी कामदारको संख्या कम नै छ,’ उनले भने, ‘साथै, श्रम गन्तव्य मुलुकहरूबाट हुने कामदारको माग पनि घट्दै गएको छ ।

तर, यसको कारण कोरोनाको दोस्रो लहर नै हो कि अन्य कुनै कारण हो भनेर भन्न सक्ने अवस्था छैन । त्यसैले पनि यस सम्बन्धमा अध्ययन गर्न लागेका हौं ।’

छिट्टै यस सम्बन्धमा परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, म्यानपावर व्यवसायीहरूको संगठनका प्रतिनिधिहरूसँग बैठक पनि बस्ने उनको भनाइ छ । ‘यस सम्बन्धमा सम्बद्ध निकायका प्रतिनिधिहरूसँग बैठक पनि हुन्छ । त्यस बैठकपछि हामीलाई अध्ययन गर्न थप सहज हुनेछ,’ उनले भने ।

कोरोनाको पहिलो लहर नियन्त्रण गर्न नेपालसहित विभिन्न श्रम गन्तव्य मुुलुकमा लगाइएको बन्दाबन्दीका कारण वैदेशिक रोजगारी नमज्जाले प्रभावित भएको थियो ।

बन्दाबन्दीका कारण नेपालबाट कामदार जान सकेका थिएनन् । त्यसमाथि विदेशमा भएका कामदार पनि रोजगारी गुमाएर नेपाल फर्कन बाध्य भएका थिए ।

कोरोनाका कारण व्यवसाय नै प्रभावित भएपछि श्रम गन्तव्य मुलुका रोगगारदाता कम्पनीहरूले कामदार कटौती गर्दा नेपाली कामदार नेपाल फर्कन बाध्य भएका थिए ।

बीचमा कोरोना विपद् साम्य हुँदै गएपछि वैदेशिक रोजागरी तंग्रिन थालेको थियो । श्रम गन्तव्य मुलुकबाट कामदारको माग पनि भइरहेको थियो । नेपालबाट कामदारको संख्या बढ्दै गएको थियो । अहिले कोरोनाको संक्रमण बढ्न थालेपछि वैदेशिक रोजगार पुनः प्रभावित हुने सक्ने बताइएको छ ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञा तथा हवाई उडान बन्द गरे पनि विभागले कामदारलाई श्रमस्वीकृति दिन भने स्थगित गरेको छैन । अनलाइनमार्फत कामदारहरूलाई वैदेशिक रोजगारीमा जान स्वीकृति दिने गरेको महानिर्देशक दवाडीको भनाइ छ ।

‘अहिले भौतिक रूपमा नभएर अनलाइनमार्फत श्रमस्वीकृति दिने काम भइरहेको छ । श्रमस्वीकृति लिएको ३ महीनाभित्र विदेश जानुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले पछि सजिलो हुने मनसायले निषेधाज्ञाका बीच पनि अनलाइनमार्फत श्रम स्वीकृति दिने गरेको छौं । अहिले स्थगित गर्दा पछि निषेधाज्ञा हट्दा बित्तिकै बढी भीडभाड पनि हुने भएकाले यस्तो गरेका हौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)