ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभिड अस्पताल बनाउँदै पर्वतका स्थानीय तह

२०७८ बैशाख, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

वैशाख २६, पर्वत । पर्वतका स्थानीय तहले आफ्नो क्षेत्रमा कोभिड अस्पताल बनाउन थालेका छन् । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि जिल्लाका सातै स्थानीय तहले अस्पताल बनाउन लागेका हुन् । 

गत वर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड अस्पताल अहिले विस्थापित भइरहेको छ । उक्त अस्पताल सातै स्थानीय तहको आर्थिक सहयोगमा निर्माण भएको थियो । गत वर्ष निर्मित अस्पताल विस्थापित भएपछि यस वर्ष स्थानीय तहले एकल लगानीमा अस्पताल चलाउन थालेका हुन् । 

जिल्लाको महाशिला गाउँपालिकाले वडा ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । पालिकाले १० ओटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको प्रवक्ता जीवनविक्रम उचै ठकुरीले बताए । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले यस अघिको ५ बेड क्षमताको अस्पताललाई विस्तार गर्दै अक्सिजन सिलिन्डरसमेत राख्ने तयारी थालेको बताए ।

जलजला गाउँपालिकाले ५ बेडको अस्पताल तयार गरेको जानकारी दिएको छ । पालिकासँग अक्सिजनका २ ओटा मात्रै सिलिन्डर रहेको प्रवक्ता देविन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार पालिकाले अरू अक्सिजन सिलिन्डर खरीद गरेर व्यवस्थापनको तयारी गरेको छ । 

उता मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्यचौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा रहेको छ । अक्सिजनको कमी देखिएकाले अक्सिजनसहितका बेड तयारी अवस्थामा राखेको लामिछानेले बताए ।  

बिहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेशन बेडलाई अक्सिजन लगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताए । अस्पतालका लागि आवश्यक औषधी उपकरण खरीद गर्ने कार्यपालिकाले निर्णय समेत गरिसकेको छ । 

सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनालाई स्थानान्तरण गरी ठूलीपोखरी वा बजारक्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताए । नेपाली काँग्रेसको नवनिर्मित भवनमा पनि कोभिड अस्पताल चलाउने बारेमा छलफल चलेको नगरप्रमुख जोशीले जानकारी दिए । 

जिल्ला अस्पतालमा १० बेडको भेण्टिलेटर र आइसियूसहितको बेड भएकाले ठूलीपोखरीका रहेको प्राथमिक स्वास्थ्य केन्द्र वा बजार क्षेत्रभन्दा बाहिर खोल्ने बारे छलफल भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)