ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा ६ वर्षमा ३ हजार घर निर्माण

२०७८ बैशाख, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा भूकम्प गएको ६ वर्षमा ३ हजार ४४४ निजी आवास पुनर्निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन, इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनर्निर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको बताएको छ ।

जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको संख्या ५ हजार ८७६ रहेको छ । यीमध्ये केही प्रबलीकरणतर्फका लाभग्राही हुन् । पुनर्निर्माणका लागि कार्यालयले अहिलेसम्म १ अर्ब ३३ करोड २० लाख रुपैयाँ लगानी भएको बताएको छ । पूर्णक्षति भएका लाभग्राहीलाई कार्यालयले तीन किस्तामा कुल ३ लाख रुपैयाँ र प्रबलीकरण गर्नुपर्ने लाभग्राहीलाई १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

जिल्ला आयोजना कार्यालयका प्रमुख कृष्णराज गौतमले आगामी असार मसान्तसम्ममा जिल्लामा पुनर्निर्माणको काम सक्नुपर्ने दायित्व रहेको बताए । प्रबलीकरणतर्फ कसैले पनि काम नगरेकाले भौतिक प्रगति बढ्न नसकेको उनले जानकारी दिए । कार्यालयले ३४८ जनाले प्रबलीकरणबाट पुनर्निर्माणमा र १३० जनाले प्रबलीकरणबाट मर्मतमा परिवर्तन गरेको बताएको छ । सडक पुनर्निर्माणको सूचीमा रहेका पातीचौर, मैदान लप्सीबोट सडक ३ किलोमिटर ७०० मिटर कालोपत्र गर्ने काम भने गतिका साथ अगाडि बढ्न सकेको छैन ।

यस सडकको केही खण्डमा ढलान गर्ने र नाली बनाउने काम बाहेक अरू काम अगाडि नबढेको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख छ । २०७२ वैशाख १२ को भूकम्पका कारण घर भत्किए पनि प्राविधिकले मूल्यांकन गर्दा क्षतिको सूचीमा नपारेको भन्दै जिल्लाका १ हजार ५ सय ९० जनाले प्राधिकरणका विरुद्धमा मुद्दा दर्ता गरेका छन् । ती मुद्दाको किनारा लाग्न केही समय लाग्ने पनि कार्यालयले बताएको छ ।

लाभग्राहीले घर बनाउने कामलाई चासोका साथ नलिएको कार्यालयका सूचना अधिकारी पोषनाथ शर्माले बताए । भनेको बेला डकर्मी, सिकर्मी नपाउने, मूल्यांकनका लागि प्राविधिक नआउने कारण काम गर्न अप्ठ्यारो भएको लाभग्राहीले गुनासो गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)