पर्वत । गम्भीर अवस्थाका बिरामीको उपचार सहज बनाउन पर्वत अस्पतालमा जोडिएको अक्सिजन प्लान्ट प्रयोगमा आउन सकेको छैन । अस्पतालमा गत कात्तिक पहिलो साता १२ बेडलाई पुग्ने क्षमताको अक्सिजन प्लान्ट लगाइएको थियो । गण्डकी प्रदेश सरकारको ७५ लाख रुपैयाँमा जडान गरिएको अक्सिजन प्लान्टबाट अहिले उत्पादन हुन सकेको छैन । पछिल्लो समय कोरोना संक्रमित बिरामीलाई अक्सिजनको अभाव हुन थाले पनि अस्पतालले प्लान्टबाट बिरामीको बेडसम्म अक्सिजन पुर्याउन सकेको छैन । अस्पताल स्रोतका अनुसार प्रशासनले प्लान्टबाट उत्पादन नगरी बाहिरबाट सिलिन्डरमा ल्याइएको अक्सिजन बिरामीलाई दिने गरेको छ । अस्पतालको प्लान्टबाट अक्सिजन उत्पादन नभएको विषयमा कोभिड रोकथाम जिल्लास्तरीय समिति (डीसीसीएमसी)ले केही दिनअघि अनुगमनसमेत गरेको थियो । डीसीसीएमसीका सदस्य एवं पर्वत प्रशासनका प्रशासकीय अधिकृत विमल गौतमका अनुसार प्लान्टबाट उत्पादित अक्सिजन चार बेडमा मात्रै पुगेको छ ।
अस्पताल प्रशासनले भने अक्सिजन उत्पादन नै नभएको भन्ने विषयलाई खण्डन गरेको छ । प्लान्टबाट उत्पादित अक्सिजन पाइप लाइनमार्फत इमर्जेन्सीमा मात्र पु¥याइएको भन्दै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढुण्डीराज पौडेलले चार बेडमा त्यहीँबाट दिइएको र बाँकी बेडमा मात्र सिलिन्डर चलाइएको बताए ।
उत्पादित अक्सिजन सिलिन्डरमा भर्न १५ लाख पर्ने छुट्टै मेशिन आवश्यक पर्ने भएकाले तत्काल त्यो सम्भव नभएको पौडलले बताए । ४९ थान अक्सिजन सिलिन्डरमध्ये ४० ओटा भरी रहेको अस्पताल प्रशासनले बताएको छ । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीका अनुसार हालको मेशिनबाट सिलिन्डरमा भरेर राख्न मिल्दैन ।