पर्वत । कोभिड–१९ का संक्रमित बिरामीको संख्या दैनिक बढ्दै गएपछि पर्वत अस्पतलामा शय्या थप गरिएको छ । जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालबाट आवश्यक पलङ, लत्ताकपडालगायत सामग्री लगेर २० बेड थपिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।
अस्पतालले सञ्चालनमा ल्याएको १० शय्या क्षमताको कोरोना संक्रमित उपचार कक्ष सोमबार नै भरिएको हो । अस्पतालमा रहेका सबै कोभिडका बिरामीले त्यहीकै अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन तथा सिलिन्डरबाट अक्सिजन लिएर उपचार गरिरहेका छन् ।
कोरोना संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर पर्वत अस्पतालमा कुश्मा नगरपालिकाले पनि खर्च वहन गर्ने गरी २० शय्या विस्तार गरिएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।
थपिएका बेडमा समेत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार गरिनेछ । स्वास्थ्यकर्मीबिना अक्सिजन मात्र दिएर बिरामी ठीक हुने अवस्था नभएको र अहिले अस्पतालमा रहेको जनशक्ति अपुग हुने अवस्था आएको अस्पतालका अध्यक्ष पहाडीले बताए ।
उनका अनुसार थप हुने बिरामीको उपचारका लागि थप बजेट र जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकार र पर्वतका नगरपालिका तथा गाउँपालिकाबाट आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । पर्वतमा पछिल्लो साता कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । सोमबार एकै दिन ८१ जनामा संक्रमण पुष्टि
भएको थियो ।
अहिलेसम्म पर्वतमा ३ सय ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए ।
उनका अनुसार २ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी २८ जनाको जिल्ला अस्पताल र गाउँ, नगरपालिकाका अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ ।