ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ढोरपाटन र गुर्जा जोड्ने सडक रोकियो

२०७८ बैशाख, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको दुर्गम ठाउँ धवलागिरि गाउँपालिका–१ गुर्जा र बागलुङ, रुकुम र म्याग्दीको सीमामा पर्ने ढोरपाटन क्षेत्र पुग्ने सडक निर्माण रोकिएको छ । सडक डिभिजन कार्यालयमार्फत निर्माण हुन लागेको मुना–ढोरपाटन सडक खण्ड अन्तर्गत पर्ने मटला भीरको पहरो फुटाउने काममा ढिलासुस्ती हुँदा सडक निर्माण रोकिएको हो । जिसी कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको मटला भीर  सडक खण्डका लागि चालू आर्थिक वर्षमा सडक डिभिजन कार्यालयबाट २ करोड, धवलागिरि गाउँपालिकाबाट २५ लाख र मालिका गाउँपालिका–२ लुलाङबाट १५ लाख विनियोजन भएको थियो ।

राष्ट्रिय वनको क्षेत्रभित्र पर्ने मटला भीरमा वन कार्यालयको अनुमतिविना सडक निर्माण गर्न लागिएकाले मुद्दा परेपछि त्यसको छिनोफानो नहुउन्जेल लुलाङको खोरिया गाउँबाट सडकको ट्र्याक खोल्न नसकिएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडासदस्य मतिप्रसाद पाइजाले बताए ।

मुना–ढोरपाटन सडक खण्ड  लुलाङको लमसुङदेखि खोरिया गाउँसम्म पुगेको छ । मटला भीरको पहरो फुटाएर ट्र्याक खोल्ने हो भने चालू आर्थिक वर्षमै खोरिया गाउँसम्म मोटर पुग्न सक्ने बताइएको छ ।

यो सडकको ट्र्याक खुलेर यातायातका साधन सञ्चालन भए म्याग्दी, बागलुङ, रुकुम, रोल्पा लगायत जिल्लाका हजारौं सर्वसाधारण लाभान्वित हुने वडासदस्य पाइजाले बताए । बागलुङको बुर्तिवाङ हुँदै ढोरपाटन जोड्ने सडकभन्दा यो सडक छोटो र सहज भएकाले निर्माणलाई तीव्रता दिन स्थानीयले माग गरेका छन् । त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकाले धवलागिरि गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको धवलागिरि–३ का वडाध्यक्ष पुर्म पुनले बताए । जिल्लाको दुर्गम बस्तीसहित बागलुङ र रुकुम जोड्ने यो सडक निर्माण तीव्र बनाई समयमै ट्र्याक खोल्न सके पिछिडिएका दुर्गम गाउँका नागरिकले सुविधा पाउने उनको भनाइ छ । सडक निर्माणपछि पश्चिम म्याग्दीका विकट बस्तीका मानिसको आर्थिक अवस्थामा समेत सुधार आउने अपेक्षा गरिएको छ ।

मुना, लुलाङ, मुदी र गुर्जाका साथै ढोरपाटन क्षेत्र जडीबुटी, खनिज, वनपैदावार, पशुपालन, पर्यटन र प्राङ्गारिक कृषिका लागि सम्भावना बोकेका ठाउँहरू हुन् । सडक सुविधा भएपछि त्यहाँको उत्पादनले बजार पाउने आशा स्थानीयको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)