ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरको छतमा लटरम्म तरकारी

२०७८ बैशाख, ३१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोनाको दोस्रो लहरका कारण धेरै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । निश्चित समय बाहेक अरू समयमा बजार खुल्दैन । बजारमा निस्के पनि संक्रमणको जोखिम उत्तिकै छ । यस्तो अवस्थामा म्याग्दीको सदरमुकाम बेनी बजारका धेरै घरका छतमा गरिएको कौसीखेती तरकारीको जोहोका लागि गतिलो माध्यम बनेको छ ।

जिल्ला हुलाक कार्यालय म्याग्दीकी प्रमुख साधनाकुमारी श्रेष्ठको घर हुलाकचोकमै छ । आफ्नो घरको छतलाई उनले कुनै व्यावसायिक किसानको करेसाबारी भन्दा कम बनाएकी छैनन् ।

घरको छतैभरि पुदिनादेखि टमाटरसम्मका विभिन्न तरकारी लहलह छन् । समय कटाउन सजिलो, आफैले घरकै छतमा फलाएका ताजा तरकारी खान पाइने, पैसाको बचत हुने, घरको सुन्दरता थपिने र बाहिर निस्कन नपर्दा संक्रमणबाट पनि जोगिने भएकाले कोसीखेतीबाट उनले प्रशस्त लाभ लिएकी छिन् ।

श्रेष्ठको मात्र होइन, बेनी नगरपालिका वडा नं ७ र ८ मा पर्ने बेनीबजारका १ हजार २०० भन्दा बढी घरमध्ये अधिकांशमा कौसीखेती गरिएको छ । अग्र्यानिक तथा विषादीरहित तरकारी खान पाइने, पैसाको बचत हुने र घरमै बसेर तरकारीको स्याहार गर्दा समयको पनि सदुपयोग हुने भएकाले आफू कोसीखेतीमा आकर्षित भएको बताउँछिन् बेनी नगरपालिका–७ वीरेन्द्रचोककी सिर्जना भट्टचन ।

श्रेष्ठ र भट्टचन जस्तै बजारका ५० जना महिला र पुरुष कौसीखेती सम्बन्धी तालीम नै लिएर यसमा लागिपरेका छन् । वडामा कौसीखेतीतर्फ गृहिणीको आकर्षण देखेर बेनी नगरपालिका–७ ले केही समयअघि यससम्बन्धी तालीम सञ्चालन गरेको थियो ।

भान्छाबाट उत्पन्न फोहोर व्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई व्यवस्थित गर्न वडा कार्यालयले सघाएको बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । छतमा गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर तरकारी तथा फलफूलखेती गर्न सकिने भएपछि यसमा मानिसको चासो र आकर्षण बढेको उनको भनाइ छ ।

वडा कार्यालयको वार्षिक बजेटबाट सञ्चालित तालीममा अग्र्यानिक तरकार खेतीको आवश्यकता, माटोको तयारी, बाली छनोट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद व्यवस्थापन, सम्भावित रोग तथा निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएको थियो । साथै स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिएको र हाइब्रिड जातको खेतीबारे पनि जानकारी गराइएको अध्यक्ष श्रेष्ठले बताए ।

भान्साबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी मल बनाउने विधिबारे थाहा पाएपछि कोशीखेतीमा सहज भएको बेनी बजारकी अर्की गृहिणी सोभिता श्रेष्ठले बताइन् । तालीममा सहभागीले कौसीमा रोपेको तरकारीले पर्याप्त नभए पनि घरभित्रको फोहोर व्यवस्थापन र समयको सदुपयोग हुने बताएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)