ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

साढे ३ वर्षमा सम्पन्न गर्नेगरी दुई चिनियाँ कम्पनीलाई जिम्मा

२०७८ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।

संघीय संसद्को सार्वजनिक लेखा समितिले सुरुङमार्गको दोस्रो प्याकेजको पूर्वयोग्यता (पीक्यू)मै अनियमितता, प्रतिस्पर्धालाई निषेध गरिएको भन्दै यस प्रक्रियालाई नै रद्द गरेर पुनः खरीद प्रक्रिया अघि बढाउन दिएको निर्देशनकै बीच सेनाले ठेक्का सम्झौता गरेको हो । यद्यपि विभागीय मन्त्रालय रक्षामार्फत लेखा समितिलाई एक साताअघि पत्र लेख्दै नेपाली सेनाले पीक्यू रद्द गर्न दिइएको निर्देशनमा पुनर्विचार गरिदिन आग्रह गरेको थियो ।

तर, कुनै पनि निकायबाट परिपत्र नआएपछि साविककै कार्यतालिका अनुसार ठेक्का सम्झौता गरिएको सेनाले जानकारी दिएको छ । चैत १९ गते समितिले मन्त्रालयमार्फत सेनालाई दोस्रो प्याकेजको खरीद प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो । तर, सरकारले कुनै निर्देशन नदिएपछि सेनाले ती कम्पनीको आर्थिक प्रस्ताव वैशाख १२ गते स्वीकृत गरेको थियो । आर्थिक प्रस्ताव स्वीकृतिको ३ दिनपछि समितिले सीधै नेपाली सेनालाई पत्राचार गरेर पुनः प्रक्रिया रद्द गरी जवाफ दिन निर्देशन दिएको थियो ।

समिति–मन्त्रालय–सेनाबीच देखिएको मतभेद तथा विवादकै बीचमा सेनाले कानूनी बाध्यता, सार्वजनिक ऐन र नियमावली अनुसार नै ठेक्का सम्झौता गरेको दाबी गरेको छ । द्रुतमार्गमा बन्ने सुरुङमार्गसहितका ती पुलको पहिलो प्याकेजको लागत २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको लागत २८ अर्ब ५३ करोड रुपैयाँ छ । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले ठेक्का सम्झौताअनुसार ६ महीना डिजाइन र त्यसपछिको ३ वर्षभित्र ती कम्पनीले सुरुङमार्ग/पुल निर्माण गरिसक्ने जानकारी दिए ।

खरीद प्रक्रिया कानूनअनुसार नै ७ दिनभित्र उजुरी दिन भनिए पनि कुनै कम्पनीबाट उजुरी नआएपछि ती कम्पनीसँग ठेक्का सम्झौता गरिएको उनको भनाइ छ । अर्कोतर्फ समितिलाई सीधै पत्राचार पठाउन नमिल्ने र मन्त्रालयमार्फत जवाफ पठाइएको भए पनि कुनै जानकारी नआएपछि कार्यतालिका नरोकी ठेक्का सम्झौता गरिएको उनले उल्लेख गरे । निर्माण अघि बढाउन ढिलाइ हुँदा अर्बाैं नोक्सान हुने र प्राविधिक रूपमा पनि सुरुङमार्ग र पुल एकआपसमा जोडिएकाले सँगै निर्माण अघि बढाउनुपर्ने बाध्यता रहेको सेनाको भनाइ छ ।

यस्तै सेना सम्बद्ध स्रोतका अनुुसार अहिले खरीद प्रक्रिया रद्द गर्दा नयाँ मूल्यअनुसार लागतसहितको टेण्डर बनाउनु पर्ने हुँदा लागत अनुमान नै बढ्ने, पुनः खरीद प्रक्रियामा जाँदा अहिलेको समय पनि खेर जाने र अर्काे एक वर्ष प्रक्रियामै बित्ने हुँदा निर्धारित समयमै फाष्ट ट्र्याकको काम बन्न सक्दैन । सार्वजनिक ऐन र नियमावलीले तोकेको मापदण्ड पालना गरी पूर्णरूपमा पारदर्शी रूपमा ठेक्का अघि बढाइएकोले रोक्न नहुने स्रोतको दाबी छ ।

सेनाका अनुसार पोली च्याङ्दाले धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुल बनाउनेछ । अर्काे छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग तथा पुल चाइना स्टेट कन्स्ट्रक्शनले निर्माण गर्नेछ । ७२ दशमलव ५ किलोमिटर (किमी) लामो उक्त द्रुतमार्गमा सबैभन्दा जटिलता र बढी लागत यी संरचना निर्माणमा हुनेछ । उक्त द्रुतमार्गमा विभिन्न तीन स्थानमा सुरुङमार्ग बन्नेछन् । साथै १६ ओटा जटिलखाले पुल पनि बन्नेछन् ।

द्रुतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किमी रहेको छ भने जटिल खाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ । ती कम्पनीले सुरुङमार्गसहित यी पुल पनि निर्माण गर्ने सेनाले उल्लेख गरेको छ । आयोजनाको कुल लागत भने रू. १ खर्ब ७५ करोड छ । सरकारले २०७४ वैशाखमा ४ वर्षभित्र द्रुतमार्ग बनाउनेगरी नेपाली सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । त्यसको ४ वर्षपछि मात्रै द्रुतमार्गका जटिल र मुख्य संरचना निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

savish

[May 16, 2021 10:48am]

धेरै खुशी लाग्यो अलि अलि आश लाग्यो अब चही बन्छ कि



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)