ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको नाफा

९ महीनामा रू. ३ अर्ब ४५ करोड नाफा

२०७८ जेठ, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आथिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा करीब ९ प्रतिशतले बढेको छ । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ कम्पनीको औसत नाफा ८ दशमलव ९१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा उक्त कम्पनीहरूले रू. ३ अर्ब ४५ करोड १९ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने उनीहरूको खुद नाफा रू. १ अर्ब १६ करोड ९५ लाख थियो । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकनको क्रममा बीमांकीले असमाप्त जोखिम बापतको व्यवस्था र बीमा कोषको केही रकम नाफा नोक्सान खातामा सार्न सक्छन्, जसले गर्दा कम्पनीहरूको नाफा बढ्नेछ ।

कोरोना कहरका बीच पनि समीक्षा अवधिमा सन्तोषजनक नाफा आर्जन भएको बीमा कम्पनीहरूको भनाइ छ । कोरोना कहर र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा यस्तो बीमाको व्यवसायमा सुधार आउँदा नाफा पनि बढेको कम्पनीहरूको भनाइ छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले लगानीको प्रतिफल बढ्दा नाफा बढेको बताए । ‘कम्पनीहरूले मुद्दती निक्षेप, डिबेन्चर, शेयर, म्युचुअल फण्डमा गरेको लगानीबाट राम्रो प्रतिफल आउँदा नाफामा पनि बढेको हो,’ उनले भने, ‘कोरोना कहरका कारण बैंकहरूले ब्याजदर घटाए पनि संस्थागत मुद्दती निक्षेपमा त्यति असर देखिएन । फलस्वरूप हामीलाई नयाँ मुद्दती निक्षेपबाट राम्रै प्रतिफल आयो ।’

यद्यपि, चौथो त्रैमासको व्यवसाय भने कोरोनाको दोस्रो लहरका कारण प्रभावित हुन सक्ने उनको आशंका छ । ‘गत आर्थिक वर्षमा पनि यही समयमै बन्दाबन्दी तथा निषेधाज्ञा हुँदा बीमा व्यवसाय प्रभावित भएको छ । अहिले पनि बीमा व्यवसाय प्रभावित हुने देखिएको,’ उनले भने,  ‘तर, त्यो अहिले नै आकलन गर्न सकिँदैन ।’

निर्जीवन बीमा कम्पनीहरूमध्ये नेशनल इन्स्योरेन्सले भने तेस्रो त्रैमासको मात्र नभएर लामो समयदेखि नै वित्तिय विवरण सार्वजनिक गरेको छैन ।

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सको नाफा सबैभन्दा बढी छ । सो अवधिमा कम्पनीले रू. ३६ करोड ३३ लाख खुद नाफा कमाएको हो । यस्तै, दोस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३५ करोड ९ लाख र तेस्रो स्थानमा रहेको प्रिमियर इन्स्योरेन्सले २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी, दी ओरियण्टल इन्स्योरेन्स र हिमालय जनरल इस्योरेन्सको नाफा भने घटेको छ । सो अवधिमा राष्ट्रिय बीमा कम्पनीको ४९ दशमलव ४७ प्रतिशत, दी ओरियण्टलको ३२ दशमलव ५७ र हिमालय जनरलको १९ दशमलव १३ प्रतिशतले नाफा घटेको छ ।

गत आवको तेस्रो त्रैमाससम्ममा ५३ करोड ४३ लाख नाफा कमाएको राष्ट्रिय बीमा कम्पनीको नाफा चालू आवको सोही अवधिमा २७ करोड रुपैयाँ रहेको छ । यस्तै, गत आवमा ३७ करोड २५ लाख नाफा कमाएको दी ओरियण्टलले अहिले २५ करोड १२ लाख र ११ करोड २५ लाख नाफा कमाएको हिमालय जनरलले अहिले ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)