ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयरबजारको उकालो यात्रा निरन्तर

कारोबार रकमको उच्चता कायमै

२०७८ जेठ, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । कोभिड महामारीको बीच उकालो लाग्न शुरू गरेको नेपालको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमवार शेयरबजारको कारोबार मापक नेप्से परिसूचक २ हजार ७५९ दशमलव २१ विन्दुमा पुग्योे । यस दिन २० दशमलव ७१ अंक अर्थात शून्य दशमलव ७६ प्रतिशतले परिसूचक उकालो लागेको हो ।

२०७५ माघ २९ गते १ हजार १११ विन्दुदेखि उकालो लागेको बजार १ हजार ६४८ विन्दुभन्दा बढी उक्लिसकेको छ । नेप्से परिसूचकसँगै पछिल्लो समय शेयरबजारमा कारोबार रकमले पनि उच्चता कायम गर्दै आएको छ । आइतवार रू. १० अर्ब ४० करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । सोमवार रू. ९ अर्ब ५७ करोड ६३ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।

कोभिड महामारीका बीच पनि बजारले निरन्तर गति लिनु र कारोबार रकम बढ्नुमा लगानीकर्ताहरू बढ्नु कारण मानिएको छ । कोभिडका कारण आआफ्नै पेशा व्यवसायमा व्यस्त मानिसहरू ती व्यवसाय प्रभावित हुँदा निरन्तर सञ्चालन रहेको शेयरबजारप्रति आकर्षित भएको बजार सञ्चालकहरू बताउँछन् ।

नेप्सेका अनुसार हाल धितोपत्र दोस्रो बजारमा ६ लाखभन्दा बढी लगानीकर्ता सहभागी छन् । यो संख्या १ वर्ष अघिसम्म करीब १ लाखको हाराहारीमा थियो । बजारमा नयाँ कम्पनीहरूको प्रवेशले पनि लगानीकर्ताको सहभागिता बढाएको हो । यो वर्ष मात्र दोस्रो बजारमा नेपाल पुनर्बीमा कम्पनी सहितका डेढ दर्जन बढी कम्पनी धितोपत्र दोस्रो बजारमा भित्रिएका छन् । बढ्दो बजारमा नयाँ कम्पनीहरूको शेयर खरीद चापका कारण पनि बजारले गति लिन सहयोग पुगेको विश्लेषकहरूको भनाइ छ ।

सहजताका कारण लगानी बढ्यो
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले लगानीकर्तालाई सहज तरीकाले लगानी गर्ने वातावरण बनाउन नेप्से सधैं प्रयासरत रहेको जानकारी दिए । पछिल्लो समय नेपालभित्र मात्र नभई नेपालबाहिर रहेका नेपालीहरू पनि कारोबारमा सहभागी भएको पराजुली बताउँछन् । यो १ वर्षमा ५ लाखभन्दा बढी लगानीकर्ता दोस्रो बजारमा सहभागी भएकाले बजारले गति लिएको उनको भनाइ छ ।

स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष भरत रानाभाटले बजारमा बढ्दै गएको कारोबार रकमलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । कोभिडका कारण घरभित्र सीमित भएको अहिलेको जनजीवन सहज तरीकाले बजारमा लगानी गर्न उत्साहित भएको रानाभाट बताउँछन् । अन्य देशको शेयरबजार पनि कोभिड प्रभावकै बीच बढ्दो गतिमा अघि बढेकाले नेपालमा पनि त्यसको सकारात्मक प्रभाव परेको रानाभाटको भनाइ छ ।

अहिले कर्जा लिएर लगानी गर्नेभन्दा आफूसँग भएको रकम लगानी गर्ने बढेको रानाभाटको विश्लेषण छ ।

शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले निषेधाज्ञाका बीचमा भइरहेको कारोबार रकम र लगानीकर्ताको उत्साहजनक सहभागिताले बजारलाई सकारात्मक बाटोतर्फ डोर्‍याएको बताए । कोभिडका कारण देशमा सञ्चालित धेरै उद्योग धन्दा, कल कारखाना र व्यापारहरू बन्द हुदा वैकल्पिक व्यवसायका रूपमा शेयरबजारमा लगानी भित्रिएको उनको भनाइ छ । अझै पनि बैंकिङ समूहको शेयरमूल्य बढ्न सकेको छैन । सबैभन्दा बढी स्वामित्व ओगटेको बैंकिङ समूहका कम्पनीहरूको शेयरमूल्य बढ्दै गर्दा बजारले थप नयाँ उचाइ कायम गर्ने विश्वास फुल्लेलको छ ।

शेयरबजार विश्लेषक विष्णुप्रसाद बस्यालले शेयर बजारमा ठूलाभन्दा साना लगानीकर्ता सक्रिय रहेको बताए । पछिल्लो समयको कारोबार रकम र कारोबार कित्तालाई हेर्दा ठूलाभन्दा साना लगानीकर्ताले कारोबार गरिरहेको स्पष्ट हुने उनी बताउँछन् । बजार १ वर्षमा १ हजार ६ सयविन्दु माथि पुग्दा पनि सबैभन्दा बढी अंश ओगटेको वाणिज्य तथा विकास बैंकको शेयरमूल्य बढ्न नसक्नु बजारका लागि राम्रो संकेत नभएको टिप्पणी उनको छ ।

हकप्रद शेयर र बोनस शेयरको हल्ला फिजाएर कम पूँजी भएका कम्पनीहरूको शेयरमा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढाएको समेत उनी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)