ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंकको अध्ययन : ‘उद्योग व्यवसाय पुनः प्रभावित हुनसक्छ’

२०७८ जेठ, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुनसक्ने नेपाल राष्ट्र बैंकको निचोड छ । केन्द्रीय बैंकले बुधवार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव’सम्बन्धी दोस्रो पुनरावृत्तिको सर्वेक्षण प्रतिवेदनले यस्तो निचोड निकालेको हो ।

पछिल्लो सर्वेक्षण नतीजाले २०७७ असारको तुलनामा २०७८ वैशाख १४ गतेसम्ममा करीब औसत ८१ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालनमा आएकाले उल्लेख्य सुधार भएको देखाएको छ । तर, निषेधाज्ञा र कोरोना संक्रमण बढ्दै जाँदा उद्योगहरू पुनः प्रभावित हुन सक्ने राष्ट्र बैंकको आकलन छ ।

औसत ४ दशमलव २ प्रतिशत उद्योग तथा व्यवसाय सञ्चालन हुन सकेका थिएनन् भने १४ दशमलव ६ प्रतिशत आंशिक रूपमा सञ्चालनमा रहेका थिए । यो सर्वेक्षणको नतिजा अवधिलगत्तै अर्थात् वैशाख १६ गतेदेखि कोभिड–१९ महामारीको दोस्रो लहरले अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेकाले फेरि अर्थतन्त्र प्रभावित हुनसक्ने राष्ट्र बैंकको ठहर छ ।

गतवर्षको असारको तुलनामा वैशाखसम्ममा उद्योग÷व्यवसायहरूको उत्पादन एवम् कारोबार तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको छ । तर, २०७६ फागुनको अवस्थामा भने उद्योग÷व्यवसायहरू पुग्न सकेको देखिँदैन । सर्वेक्षणअनुसार कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करीब २९ प्रतिशतमात्र उत्पादन÷कारोबार भएको थियो । २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव ४ प्रतिशत पुगेको छ । ‘गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन÷कारोबार बढेको पाइएको छ । तर, होटेल तथा रेस्टुराँको उत्पादन र कारोबारको स्थिति ४० दशमलव ८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरू भन्दा सवैभन्दा कम हो,’ सर्वेक्षणमा उल्लेख छ ।

राष्ट्र बैंकको सर्वेक्षणअनुसार वैशाखको आधा महीनासम्ममा ७४ दशमलव ४ प्रतिशत घरेलु उद्योगहरू पूर्ण सञ्चालनमा रहेका थिए । यस्तै, ७९ दशमलव २ प्रतिशत लघु उद्यम तथा साना खुद्रा व्यापार, ८१ दशमलव ७ प्रतिशत साना (रू. १५ करोडसम्मको स्थिर पूँजी भएको), ७४ प्रतिशत मझौला ( रू. १५ करोडदेखि ५० करोडसम्म) र ९० दशमलव ५ प्रतिशत ठूला (रू. ५० करोडमाथिका स्थिर पूँजी भएका) उद्योग सञ्चालनमा आइसकेका थिए ।

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ सुधार हुन थालेको अर्थतन्त्र फेरि प्रभावित हुनसक्ने बताउँछन् ।

यसैले कोभिड–१९ को संक्रमण रोक्दै यथासम्भव आर्थिक गतिविधिहरू चलायमान बनाइरहनुपर्ने उनको भनाइ छ ।

व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे २०७७ असार र मङ्सिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरूबाट पुनः तथ्यांक संकलन गरी २०७८ वैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग÷व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको हो ।

कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीहरूबाट तथ्यांक संकलन गरेको थियो । सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१ दशमलव शून्य ३ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको र ४ दशमलव १ प्रतिशत उद्योग÷व्यवसायमात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो । बन्दाबन्दी केही खुकुलो भएपछि २०७७ मङ्सिरमा प्रथम पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।

गत असारको तुलनामा वैशाखमा उद्योग÷व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग÷व्यवसायको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनुअगाडिको अवस्था पुगिसकेका छैनन् । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दशमलव ५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग÷व्यवसायहरूले २०७८ वैशाखमा ९३ दशमलव ८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला तथा ठूला उद्योग/व्यवसायले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा वैशाखमा घटेको देखिएको छ । पूर्णरूपमा सञ्चालनमा रहे पनि मझौला तथा ठूला उद्योग/व्यवसाय आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेकाले यस्ता उद्योगले प्रदान गर्ने रोजगारीमा थप कटौती हुन गएको अनुमान छ । असारको तुलनामा उद्योग/व्यवसायहरूको औसत तलब–ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारीअगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ दशमलव ४ प्रतिशत रहेको यस्तो खर्च २०७८ वैशाखमा आइपुग्दा ८८ दशमलव ५ प्रतिशत पुगेको देखिएको छ ।

खानी तथा उत्खनन क्षेत्रका उद्योग/व्यवसायहरूको औसत तलब–ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका उद्योग÷व्यवसायहरूको औसत तलब–ज्याला खर्च कोभिड महामारीअगाडिकै अवस्थामा पुगेको सर्वेक्षणले देखाएको छ ।

अनलाइन तथा टेलिफोनमार्फत गरेको सर्वेक्षणमा सहभागी अधिकांश उद्योग/व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनर्कर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या रहेको बताएका छन् । सर्वेक्षणका क्रममा सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीले कोभिड–१९ का कारण बजार माग घटेर चालू खर्च धान्न समस्या रहेका कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । तीमध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योग/व्यवसाय पुनः शुरू गर्न नचाहेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् । सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीले पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)