ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेश सरकार : पशुपालन कार्यक्रमलाई ४ करोड २५ लाख सहयोग

२०७८ जेठ, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार म्याग्दीमा पशुपालन प्रवर्द्धनका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदेश सरकारले जिल्लामा पशुपालनसम्बन्धी विभिन्न कार्यक्रम  सञ्चालनका लागि उक्त रकम सहयोग गरेको हो ।

म्याग्दीमा प्रदेश सरकारको आर्थिक सहयोगमा किसानलाई लक्षित गरेर पशुपालनको व्यावसायिकता विकास कार्यक्रम सञ्चालन भएका छन् । विदेशिने युवालाई स्वदेशमै रोकेर स्वरोजगार बनाउने युवा लक्षित कृषि कार्यक्रममा जोड दिइएको छ ।

प्रदेश सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालयमार्फत म्याग्दीमा सबैभन्दा धेरै ६४ लाख रुपैयाँको लागतमा साना व्यवसायी फार्म स्थापना तथा विस्तार कार्यक्रम छ ।

यसैगरी ५१ लाख ४० हजार रुपैयाँको लागतमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, ४० लाख रुपैयाँको लागतमा पशुपक्षी बीमा कार्यक्रम, ३० लाख रुपैयाँको लागतमा भैंसी विकास र आम यान्त्रिकीकरण कार्यक्रम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले बताएको छ । त्यस्तै कोरोना भाइरस (कोभिड–१९) राहततर्फ युवा किसानका लागि ५० प्रतिशत अनुदानमा कुखुरापालन कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

पशुपालन व्यवसाय वृद्धि गर्न र उत्पादन बढाउन डेरी तथा मासु पसल सुधार, पुराना पोखरी मर्मत सम्भार, माछाका भुरा वितरण, पाडापाडी हुर्काउने तथा हिउँदे र वर्षे घाँस उत्पादनको बीउबिजन सहयोग गर्ने जस्ता कार्यक्रम छन् । कार्यक्रममार्फत विदेशबाट फर्किएर आएका युवा किसान, व्यावसायिक फार्म दर्ता गरेका किसान, किसान समूह, कृषि तथा पशुपक्षी सहकारी संस्था र निरन्तर पशुपालनमा सक्रिय किसानलाई छनोट गरी सहयोग गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीका पशु सेवा प्राविधिक सुवास रेग्मीले जानकारी दिए । पशुपालनसम्बन्धी कार्यक्रमका लागि विनियोजित बजेटबाट बाख्रापालक किसानलाई अनुदानमा उन्नत जातको बोका वितरण समेत गरिनेछ । साथै नयाँ गाई–भैंसी, बाख्रा, बंगुर, माछा र कुखुरापालनको पकेट क्षेत्र विस्तारका योजना छन् ।

आफू विदेशबाट फर्किएपछि प्रदेश सरकारको आर्थिक सहयोगमा व्यावसायिक बाख्रापालन शुरू गरेको म्याग्दीको बेनी नगरपालिका–२ खबराका युवा किसान कर्णबहादुुर खड्काले बताए । अहिले म्याग्दीमा व्यावसायिक रूपमा भैंसीपालन, बाख्रा, कुखुरा तथा बंगुरपालन गर्ने युवा किसानको संख्या बढ्दै गएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा खासगरी बेनी नगरपालिकाभित्र धेरैजसो युवा व्यावसायिक भैंसीपालनमा आबद्ध छन् । पाँच  गाउँपालिकामा भने तुलनात्मक रूपमा बाख्रा तथा भेडापालन गर्ने किसान धेरै छन् । जिल्लाभर ४८ हजार ८५८ हेक्टर चरन क्षेत्र रहेकोमा २०० जनाभन्दा बढी किसान पशुपालनमा सक्रिय रहेको पशु सेवा केन्द्र कार्यालयको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)