ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कहर : कृषि उपज बजारीकरणमा सहज

२०७८ जेठ, ७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । गत वर्ष कोरोनाका कारण गरिएको बन्दाबन्दीले पर्वतको जलजला गाउँपालिका–७ सल्यानकी देवी आचार्यले ७ रोपनीमा लगाएको बन्दा बारीमै कुहाउनुप¥यो । तर, यो वर्ष आचार्यलाई निषेधाज्ञाकै बेला पनि तरकारी बेच्न समस्या भएको छैन ।

गत वर्ष किसानहरू डोकोमा बोकेर बजारसम्म जान डराए भने सवारीसाधान पनि पाइएन । यो वर्ष भने गाउँसम्मै तरकारी ढुवानीका लागि सवारीसाधान नियमित पुग्छन् । किसानले उत्पादन गर्ने कृषि उपज बेनीबजारसम्म पु¥याउन गाउँपालिकाले सहजीकरण गरेको छ ।

सल्यानका किसान एकनारायण पौडेल गत वर्ष बारीमै तरकारी कुहिए पनि यो वर्ष भने कुनै समस्या नभएको सुनाउँछन् । उनले ढुवानीका साधनलाई स्थानीय प्रशासनले आउजाउमा कुनै रोक नलगाएपछि तरकारी ढुवानीमा बाधा नभएको जानकारी दिए ।

जलजला कृषि बजारले पनि किसानका उत्पादन गाउँमै पुगेर ढुवानी गर्दै आएको छ । स्थानीय किसान नरबहादुर केसीले जलजला कृषि बजारले गाउँमै आएर तरकारी ढुवानी गरिदिँदा विक्री नहुने समस्या हटेको बताए ।  

मोदी गाउँपालिकामा उत्पादित तरकारी तथा दूध मोदीखोला बहुउद्देश्यीय सहकारीले स्थानीय बजारसँगै पोखरासम्म बजारीकरणमा सहजीकरण गर्दा विक्रीको समस्या हटेको छ ।
सहकारीका अध्यक्ष गंगा तिमिल्सिनाले किसानका उत्पादन ढुवानी र विक्री वितरणमा सहयोग गर्दै आएको बताइन् ।

कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका किसानले डोकोमा बोकेर भए पनि कुश्मामा तरकारी बेच्दै आएका छन् । गत वर्ष भने कोरोनाको त्रासले उपभोक्ताले बजारको तरकारी किनेर नखाने समस्या थियो । यो वर्ष जिल्लाभर निषेधाज्ञा भए पनि तरकारीको ढुवानीमा कुनै रोकतोक नभएको किसानको भनाइ छ ।

बाहिरी जिल्लाबाट ढुवानी रोकेर जिल्लाभित्रको उत्पादन आन्तरिक बजारमा खपत गर्न थालिएकाले किसानलाई बजारको समस्या नभएको कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिइन् । पोखरा, काठमाडौं, चितवन तिरबाट आउने तरकारी नल्याउन व्यापारीलाई अनुरोध गरिएको र सकेसम्म जिल्लाकै किसानको उत्पादन बेच्न भनिएको बताइन् ।

अहिलेको सिजनमा घिरौंला, काँक्रा, मूला, सिमी, गाजरलगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । स्थानीय गोलभेंडाको भने बजारमा माग उच्च छ तर उत्पादन कम छ । पर्वतका किसानले कुश्मा बजारबाहेक बागलुङ, म्याग्दी, पोखरा र मुस्ताङसम्म तरकारी विक्री गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)