ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् खपतमा देखिएन असर

२०७८ जेठ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरका कारण अहिले अधिकांश जिल्लामा निषेधाज्ञा लगाए पनि विद्युत् खपतमा भने त्यति असर नपरेको देखिएको छ ।

गतवर्ष लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञामा विद्युत् खपत ह्वात्तै घटेको थियो । तर, यसपटक भने विद्युत् खपतमा त्यति असर नपरेको विद्युत् प्राधिकरणले बताएको छ ।

कोरोना नियन्त्रणका लागि अहिले पनि ७४ जिल्लामा निषेधाज्ञा लगाइएको छ । नियन्त्रणका कारण बढी विद्युत खपत गर्ने क्षेत्रहरू पनि प्रभावित भएका छन् । तर, त्यो अवस्थामा पनि विद्युत् खपत प्रभावित नभएको प्राधिकरणको भनाइ छ ।

निषेधाज्ञाअघि विद्युत्को पिक डिमान्ड १३०० मेगावाटको हाराहारीमा थियो । निषेधाज्ञामा भने विद्युत्को पिक डिमान्ड ११७० मेगावाटदेखि १२२८ मेगावाट रहेको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जानकारी दिए ।

‘निषेधाज्ञाका कारण विद्युत् खपतमा केही कमी आएको छ । तर, अपेक्षा गरेअनुसार कमी आएको छैन,’ उनले भने, ‘पहिलेको बन्दाबन्दीमा विद्युत् खपतमा ६०० मेगावाटसम्म घटेको थियो । तर, अत्यन्त कम परिमाणमा विद्युत् खपत घटेको छ ।’

बिहीवर भने वर्षात्का कारण विद्युत् खपतमा केही कमी भएको आएको उनले बताए । ‘केही प्रसारण तथा वितरण लाइनका सामग्रीहरू पुरानो हुँदा सिमसिमे पानी पर्दा प्राविधिक रूपमा नै विद्युत् माग कम हुन्छ । त्यसका कारण बिहीवर विद्युत् मागमा केही कम भएको छ,’ उनले भने, ‘त्यसमाथि विद्युत् आयात पनि भइरहेको छ । समग्रमा विद्युत् खपतको अवस्थामा सन्तोषजनक रहेको छ ।’

सिमसिमे पानी पर्दा फिडर नलाग्ने समस्या हुन्छ । झरीमा भने त्यस्तो समस्या हुँदैन । बिहीवार सिमसिमे पानी पर्दा फिडर नलाग्दा विद्युत् खपतमा केही समस्या आएको छ । समग्रमा विद्युत् खपत सन्तोषजनक नै रहेको भट्टराई बताउँछन् । निषेधाज्ञा अवधिमा भारतबाट ५२० मेगावाटसम्म विद्युत् आयात भएको छ । त्यसैले विद्युत् खपत राम्रो भएको प्राधिकरणको भनाइ छ ।

व्यापारिक तथा व्यावसायिक भवनको विद्युत् माग नभएको उनको भनाइ छ । ‘निषेधाज्ञाका कारण व्यावसायिक तथा व्यापारिक भवनहरू बन्द भएका छन् । त्यसैले त्यस क्षेत्रबाट विद्युत् माग भएको छैन,’ उनले भने, ‘अन्य क्षेत्रको विद्युत् मागमा भने त्यति कमी आएको छैन ।’

अहिले गर्मी बढेको कारण तराई क्षेत्रमा एसी तथा फ्यानको प्रयोग बढेको छ । निषेधाज्ञा भए पनि आवश्यक सुरक्षाका मापदण्ड प्रयोग गरेर उद्योग कलकारखाना पनि केही हदसम्म सञ्चालनमा रहेका छन् । त्यसैको असरले विद्युत् खपतमा सोचेअनुरूप ह्रास नआएको प्राधिकरणको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)