ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाको पहिलो महीनामा बैंकको व्यवसाय : दर्जनभन्दा बढी बैंकको थप निक्षेप संकलन संकुचन

२०७८ जेठ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । कोभिड–१९ का कारण मुलुकमा अधिकांश क्षेत्र अस्तव्यस्त रहे पनि बैंकहरूको कारोबार भने खासै प्रभावित भएको देखिँदैन । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २२ ओटाले वैशाखमा थप कर्जा प्रवाह बढाएका छन् । तर, पाँच वाणिज्य बैंकको कर्जा प्रवाह भने चैतको तुलनामा घटेकोे छ ।

नेपाल क्रेडिट एण्ड कमर्श, नबिल, मेगा, बैंक अफ काठमाडौं र नेपाल एसबिआई बैंकको कर्जा प्रवाह ६१ करोडदेखि १ अर्ब रुपैयाँसम्म घटेको छ । नबिल बैंकको कर्जा प्रवाह पनि २२ करोड रुपैयाँले खुम्चिएको छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली मानिस बाहिर निस्किन नपाएको र मालपोत लगायतमा चहलपहल बन्द रहेकाले बैंकको व्यवसाय केही प्रभावित भएको बताउँछन् ।

उनका अनुसार वैशाखमा प्रक्रियामा रहेका, यसअघि रोकिएका कर्जा केही मात्रामा गइरहेका छन् । तर नयाँ कर्जा भने बन्द छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाले बैंकको व्यवसाय थप प्रभावित हुने उनको भनाइ छ । ‘केन्द्रीय बैंकले निषेधाज्ञाको अवधिभर ब्याज तिर्न नसकेकालाई जरीवाना नलिन भनेको छ । यसले पनि कर्जा प्रभावित हुनेछ,’ उनले भने ।

कोभिडको दोस्रो लहर रोक्न सरकारले वैशााख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाका बेला एनआईशी एशिया, सानिमा, ग्लोबल आईएमई र कुमारी बैंक २ अर्ब रुपैयाँभन्दा बढी थप कर्जा प्रवाह गर्न सफल भएका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वैशाखमा मात्रै सानिमा बैंकले ४ अर्ब १ करोड थपेर कुल कर्जा १ खर्ब ६० अर्ब ८४ करोड रुपैयाँ पुर्‍याएको छ । ग्लोबल आईएमई बैंकले ३ अर्ब ८१ करोडले बढाएर २ खर्ब ३९ अर्ब ३५ करोड पुर्‍याएको छ ।

सबैभन्दा बढी थप कर्जा प्रवाह गर्नेमा एनआईशी एशिया देखिएको छ । बैंकले चैतदेखि वैशाखको बीचमा ६ अर्ब ९२ करोड थप कर्जा वृद्धि गरेर २ खर्ब ६६ अर्ब ९१ करोड रुपैयाँ पुर्‍याएको छ । यसले चालू आर्थिक वर्षको १० महीनामा सबैभन्दा बढी अर्थात् ९३ अर्ब १७ करोड रुपैयाँ थप कर्जा प्रवाह गर्न सकेको छ ।

एनआईशी एशिया बैंकका शाखा ३५२ र एक्सटेन्सन काउन्टर ७२ ओटा भएकाले पनि व्यवसाय फस्टाउन टेवा पुगेको बताइएको छ । बैंकका जनसम्पर्क विभाग प्रमुख अर्जुनराज खनियाँका अनुसार अन्य बेला १५ अर्ब कर्जा वृद्धि गर्ने क्षमता रहेकोमा निषेधाज्ञाका कारण वैशाखमा यसको करीब आधामात्र कर्जा प्रवाह बढेको हो । ‘यस अवधिमा बैंकका पुराना ऋण नै बढी थिए । यसलाई निरन्तरता दिइयो । बैंकको सञ्जाल धेरै भएकाले कर्जा प्रवाह, निक्षेप लगायतको क्षमता पनि बढी छ,’ उनले भने ।

समग्रमा वाणिज्य बैंकहरू पछिल्लो एक महीनामा ३७ अर्ब २ करोड रुपैयाँ बराबरको कर्जा थप्न सफल भएका छन् । चालू आर्थिक वर्षको १० महीनासम्ममा बैंकहरूको कुल कर्जा प्रवाह ३६ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।

वैशाखसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप संकलन ३९ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । निषेधाज्ञाको पहिलो महीनामा भने बैंकहरूले ११ अर्ब ४२ करोड रुपैयाँ मात्र निक्षेप बढाउन सकेका छन् । कर्जाको वृद्धि योभन्दा बढी छ ।

वैशाखमा १३ ओटा वाणिज्य बैंकको निक्षेप घटेको छ । सबैभन्दा बढी निक्षेप प्रभु बैंकको घटेको छ । वैशाखमा मात्रै प्रभुको ६ अर्ब २ करोड रुपैयाँले निक्षेप संकुचन भएर १ खर्ब ६१ अर्ब ४७ करोड रुपैँयाँमा सीमित छ । यसैगरी मेगाको ४ अर्ब ८४ करोड, नेपाल क्रेडिट एण्ड कमर्शको ४ अर्ब ६३ करोड, ग्लोबल आईएमईको ४ अर्ब ३२ करोड, सिद्धार्थको ३ अर्ब ९१ करोड र एनएमबिको ३ अर्ब ६४ करोड रुपैयाँ निक्षेप घटेको संघको तथ्यांक छ ।

सेञ्चुरी, एभरेष्ट, प्राइम, कृषि विकास बैंक, सिटिजन्स, माछापुछ्रे र सनराइजको निक्षेप ३ अर्बदेखि ४१ अर्बसम्म घटेको छ । यसबाहेकका १४ वाणिज्य बैंकको निक्षेप संकलन ३६ करोडदेखि करिब पौने ९ अर्ब रुपैयाँ हारहाहारीमा वृद्धि भएको छ । निक्षेप वृद्धिमा पनि एनआईसी एशिया अग्रस्थानमा छ । यो बैंकले वैशाखमा मात्रै ८ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थपेर ३ खर्ब ४ अर्ब ३५ करोड रुपैयाँ पुर्‍याएको छ ।

बढी निक्षेप थप्नेमा कुमारी, नेपाल बैंक, नेपाल एसबिआई, नेपाल बंगलादेश, सानिमा बैंक अगाडि छन् । यसपछिका बाँकी बैंकले ४ अर्ब रुपैयाँभन्दा कम निक्षेप वृद्धि गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)