ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यरातमा प्रतिनिधिसभा विघटनपछि ‘हलचल’

असंवैधानिक कदमविरुद्ध कानूनी र राजनीतिक रूपमा लडाइँ लड्छौं : विपक्षी

२०७८ जेठ, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन आह्वान गरेसँगै राष्ट्रिय राजनीतिमा ‘हलचल’ मच्चिएको छ ।

राष्ट्रपति भण्डारीले शुक्रवार मध्यराति प्रधानमन्त्री पदका लागि एमालेका तर्फबाट केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने भन्दै दुवै दाबी खारेज गर्ने निर्णय गर्नुभएको थियो ।

त्यसलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए, त्यसपछि सोही दिन राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिश गर्दै दुई चरणमा चुनावको मिति तय गर्नुभएको थियो ।

संसद् विघटन गरी चुनाव गराउने सरकारको सिफारिश राष्ट्रपतिले स्वीकृत गरेसँगै राजनीतिमा हलचल मच्चिएको छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर मध्यरातमा असंवैधानिक काम भएको भन्दै यसविरुद्ध विपक्षीहरूले कानूनी र राजनीतिक रूपमा लडाइँ लड्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका नेताहरूले राजनीतिक र कानूनी लडाइँ लड्नका लागि मोर्चाबन्दीसमेत गरेका छन् । शनिवार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले राष्ट्रपति–प्रधानमन्त्रीको कदम असंवैधानिक भएको ठहर गरे ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चासहितका नेताहरूको बैठकले राजनीतिक प्रतिवादका साथै कानूनी लडाइँका लागि सर्वाेच्च अदालत जाने निर्णयसमेत गरेको छ ।

विपक्षी गठबन्धनका अनुसार बहुमत सांसदहरूको हस्ताक्षरसहित संसद् विघटनविरुद्ध सर्वाेच्च अदालत जाने तयारी छ । त्यसका लागि आज (आइतवार) १ बजे सांसदहरूलाई नागरिकतासहित बानेश्वरस्थित संसद् भवन बोलाइएको छ ।

‘सांसदहरूको हस्ताक्षर संकलन हुन्छ । रिटको ड्राफ्ट तयार हुँदै छ । छिट्टै अदालत जाने निर्णय छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रूपमा संसद् विघटन गरेको दाहालले बताए ।

‘फेरि संसद् पुनःस्थापना भएर लोकतन्त्र ट्र्याकमा जानेछ भन्ने विश्वास छ,’ उनको भनाइ थियो । प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरीकाले देशलाई दुर्घटनातिर लगेको भन्दै उनले यसलाई नेपाली जनताले नसहने समेत बताए ।

दाहालका अनुसार घोषित चुनाव देखाउनका लागि भएको दाबी गरे । ‘चुनाव गर्न घोषणा गरिएको होइन, असंवैधानिक रूपमा गरिएको चुनावको अर्थ छैन,’ उनको भनाइ छ ।

समयमै निर्वाचन गराउन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको बताउनुभएको छ ।

मिति तोकिएलगत्तै प्रधानमन्त्री ओलीले शनिवार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहित आयुक्तहरूसँग बालुवाटारमा छलफल गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्नेगरी तयारीमा जुट्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री आलीले निर्वाचन आयोगले आफ्नो तयारी थाल्नुपर्ने भन्दै निर्वाचन अपरिहार्य भएकाले मुलुक त्यसतर्फ अघि बढेको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा आयोगका सबै आयुक्तसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, पूर्व महान्यायाधिवक्ता अग्नि खरेलसमेत सहभागी थिए ।

आयोगका प्रमुख आयुक्त थपलियाले निर्वाचन आयोग तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तयार रहेको र समय पनि पर्याप्त भएको बताएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)