ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पादन कटौती गर्दै बारा–पर्सा कोरिडोरका उद्योग

निषेधाज्ञा बढ्दा घट्यो माग

२०७८ जेठ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ ।

कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन घटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘खाद्यान्न र औषधि उद्योगको उत्पादन खासै प्रभावित भएको छैन । तर, निर्माण सामग्री, कपडा, गार्मेन्ट, मदिरालगायत उद्योग बढी प्रभावित भएका छन्,’ अध्यक्ष गुप्ताले आर्थिक अभियानसित भने, ‘यस्ता उद्योगको उत्पादन आधामा झरिसकेको छ ।’ खाद्यान्न र औषध उत्पादकबाहेक अन्य उद्योग अहिले क्षमताको ५० प्रतिशतको हाराहारीमा चलेको गुप्ताको भनाइ छ । गतवर्षको बन्दाबन्दीको तुलनामा यसपटकको निषेधाज्ञामा कच्चा पदार्थ र तयारी उत्पादनको ढुवानी सहज भए पनि बजार बन्द भएकाले माग घट्न थालेको उनले बताए ।

निषेधाज्ञामा निर्माण कार्य अवरुद्ध भएकाले निर्माण सामग्रीको माग घट्दै गएको नारायणी रोलिङ मिल्सका सञ्चालक राजेश क्याल बताउँछन् । ‘माग कम आउन थालेपछि निर्माण सामग्रीका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन्,’ उद्योगी क्यालले बताए ।

यो कोरिडोरमा निर्माण सामग्रीका करीब ३ दर्जन उद्योग छन् । बारा र पर्सामा साना ठूला गरी १ हजार उद्योग सञ्चालनमा रहेको अनुमान उद्यमीहरूको छ ।

निषेधाज्ञा लम्बिएसँगै बजारबाट माग घट्न थालेको छ । उत्पादन गोदाममा थन्क्याएर राख्नुभन्दा उत्पादन घटाउने उपायमा लागेको उद्योगीहरू बताउँछन् । अहिले ७६ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

अहिले मुख्य उत्पादन तथा आपूर्ति केन्द्र र बजारमा निषेधाज्ञा लगाइएको करीब १ महीना पुगिसकेको छ ।

आउन छाडे कामदार
कोरोनाको दोस्रो लहरबाट मानवीय क्षति बढी भएपछि उत्पन्न त्रासका कारण पनि उत्पादन प्रभावित हुन थालेको उद्यमीहरूले बताएका छन् । अघिल्लो बन्दाबन्दीमा आवागमन असहज भए पनि महामारीको त्रास कम थियो । यस पटक कोरोनाबाट बढी मानिसको ज्यान जान थालेपछि डरले कामदार आउन छोडेको अध्यक्ष गुप्ताले जानकारी दिए । ‘उद्योगले कामदार अभावको समस्या पनि खेपिरहेका छन् । खाद्यान्न उद्योगले कामदार नपाएरै उत्पादन प्रभावित हुने अवस्था आएको छ,’ उनले भने ।

कामदारमा संक्रमणको जोखिम बढेपछि कोरिडोरका केही उद्योगले राहतसमेत घोषणा गरेका छन् । बारा–पर्सा कोरिडोरलाई आधार बनाएर उद्योग चलाएको प्रेस्टिज ग्रूपले यस्तो घोषणा गरेको छ । कार्यस्थलमा खटिएका कामदार कर्मचारीको कोरोनाबाट ज्यान गएमा आश्रित परिवारलाई १ वर्षको आधारभूत तलब राहत दिइने प्रेस्टिज ग्रूपका प्रबन्ध सञ्चालक विनय शाहले बताए ।

महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण बजार बन्द भएपछि अधिकांश उद्यमलाई चालू पूँजीको अभाव हुन थालेको नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए । ‘निषेधाज्ञाले बजारमा माग मात्र घटाएको छैन, उधारो असुली पनि रोकिएको अवस्था छ,’ अध्यक्ष अग्रवालले भने, ‘यसले गर्दा उद्योग व्यवसाय सञ्चालनमा चालू पूँजीको चक्र नै बिथोलिएको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)