ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धबाबा सुरुङमार्ग ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य

ईपीसी मोडलबाट बनाउन टेण्डर आह्वान, पहिरोेका कारण हुँदै आएको जनधनको क्षति रोकिने अपेक्षा

२०७८ जेठ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । विगत ८ वर्षदेखि चर्चामै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माण अघि बढाउन सरकारले टेण्डर आह्वान गरेको छ । ५ वर्षभित्र निर्माण गर्ने लक्ष्यअनुसार सडक विभागले शनिवार ग्लोबल टेण्डर आह्वान गरेको हो । अबको ४५ दिनभित्र स्वदेशी तथा विदेशी निर्माण कम्पनीले सो आयोजना निर्माणका लागि टेण्डर हाल्न पाउनेछन् ।

उक्त सडकखण्डमा सुरुङमार्ग बनाउने योजना आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो । त्यति बेला सुरुङमार्ग सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचवर्षे रणनीतिसमेत बनाएको थियो । उक्त नीतिको ३ वर्षपछि बल्ल सुरुङमार्ग बनाउन विभागले टेण्डर आह्वान गरेको छ । सामान्यतया सडक/राजमार्गको दूरी घटाउन सुरुङमार्ग बनाउने गरिन्छ । तर, यस सडकखण्डमा भने दूरी घटाउने भन्दा पनि वर्षेनि पहिरोबाट हुने जनधनको क्षति रोक्ने उद्देश्यले बनाउन लागिएको विभागका अधिकारीको भनाइ छ ।

विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा. विजय जैसीले २ वर्षअघि नै स्वीस डेभलपमेन्ट कर्पाेरेशनले प्रारम्भिक डिजाइन तथा प्रतिवेदन विभागलाई दिइसकेको र सोही आधारमा विभागले विभिन्न प्यारामिटर राखेर सुरुङमार्गको टेण्डर निकालिएको जानकारी दिए । ‘निर्माण कम्पनीले ५ वर्षभित्र सुरुङमार्ग बनाएर नेपाललाई हस्तान्तरण गर्नुपर्छ,’ उनले भने, ‘ईपीसी मोडलमा ठेक्का भएकाले तोकिएकै समयमा सुरुङमार्ग बन्ने लगभग सुनिश्चित छ, कम्पनीले कुनै कारणले आयोजनाको म्याद लम्ब्याए मूल्य वृद्धिअनुसार थप लागत भने पाउँदैन, उसले नै खर्चनुपर्ने हुन्छ ।’ तर, कुनै प्राकृतिक भवितव्य भएमा भने आयोजनाको म्याद र लागत पनि थप्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

‘अहिले विभागसँग भएको आधारभूत डिजाइनलाई नै आधार मानेर नयाँ डिजाइन तथा लगानी निर्धारण हुने भएकाले तत्काल लगानी एकिन गरिएको छैन,’ जैसीले भने, ‘अर्थले १० अर्ब १५ करोडको सीमा दिएकाले त्यहीभित्र रहेर ठेक्का निकालिएको हो ।’ निर्माण व्यवसायीले बिड हालेपछि मात्रै कति लगानी आवश्यक पर्छ भन्ने एकिन हुने उनको भनाइ छ । अबको ३ महीनापछि निर्माण कम्पनी छनोट हुने र त्यसपछिको ९ महीनाभित्र छनोट भएको कम्पनीले विभागलाई डिजाइन पेश गर्नुपर्ने बताइएको छ ।

सुरुङमार्गमा चिडिया खोला आयोजना क्षेत्र रहे पनि सुरुङमार्ग भने माथिल्लो सिद्धबाबाबाट शुरू हुनेछ । त्यसभन्दा अगाडि चिडिया खोलादेखि माथिल्लो सिद्धबाबासम्म ९०० मिटर सडकलाई दुई लेनमा स्तरोन्नति गरिनेछ भने सुरुङमार्गको अर्को भागको ५०० मिटरलाई पनि दुई लेनमा स्तरोन्नति गरिने जैसीले बताए । सुरुङमार्गको दूरी भने १ किमी १२६ मिटरको हुनेछ ।

यसैगरी आयोजनामा सुरुङमार्ग नपुग्ने स्थान अर्थात् ढुंगा झर्न नदिन रक फल प्रविधिको प्रयोग गरिनेछ । पहिरोका कारण ढुंगा पनि झर्दा उक्त खण्ड भएर यात्रा गर्नेहरू उच्च जोखिममा पर्दै आएकाले जनधनको क्षति रोक्न पनि सुरुङमार्गको विकल्प नभएको जैसीको भनाइ छ । निर्माणाधीन धेरै आयोजना समयमै नसकिएका बेला यो सुरुङमार्ग भने तोकिएकै अवधिमा सम्पन्न हुने दाबी सडक विभागको छ ।

सरकारले पहिलो पटक ‘ईपीसी माध्यमबाट खरीद गर्ने सम्बन्धी निर्देशिका–२०७८’ स्वीकृत गरेसँगै विभागले पनि यही मोडलबाट ठेक्का आह्वान गरेको छ । निर्माण कम्पनीले भेरिएसन खोजिरहने र समस्या देखाइरहने समस्या भएकाले अहिले यो इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रशन (ईपीसी) मोडल आएको जैसीले बताए । ‘त्यसो हुँदा ५ वर्षभित्र सुरुङमार्गको निर्माण नसके उसले थप एक पैसा पाउँदैन, कम्पनीलाई नै अतिरिक्त व्ययभार पर्ने भएकाले तोकिएकै समयमा सम्पन्न गर्न ऊ बाध्य हुन्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Sushil

[May 24, 2021 02:08am]

नेपाल मा आयोजना समय म सक्नु र १४ बर्षा छोरा ले कमाउनु उस्तही हो । आज सम्म यो आखाले एउटा पनि आयोजन समयमा सकिएको देखिएको छहिन ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)