ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैशाख १२ गतेयता सुनको आयात ठप्प

२०७८ जेठ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण वैशाख महीनामा सुनको आयात ह्वात्तै घटेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको चालू आवको १० महीनाको तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार वैशाखमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ, जुन सामान्य अवस्थाको भन्दा कम हो । वैशाख अघिसम्म मासिक औसत २ अर्ब १४ करोड रुपैयाँको सुन आयात हुने भएको देखिन्छ । चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो ।

परिमाणका आधारमा वैशाखमा २५८ केजी सुन आयात भएको छ । वैशाख महीना विवाहको सिजन भएकाले सुनको आयात उच्च मात्रामा हुने गर्छ । तर, यसपटक भने निषेधाज्ञाका कारण आयात घटाउनुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए ।

‘वैशाख विवाहको समय भएकाले सुनका गरगहना किन्ने ग्राहक पनि बढी हुन्छन् । तर, निषेधाज्ञा शुरू भएपछि सुनका गरगहनाको व्यापार पनि त्यति भएन,’ उनले भने, ‘व्यापार नभएपछि सुनको आयात घटेको हो । चैत १२ गतेयता त सुनको आयात नै गरिएको छैन ।’

नेपालमा सुन किन्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ । तर, वाणिज्य बैंकहरूले महासंघको सिफारिशका आधारमा सुन आयात गर्ने गरेका छन् । अहिले निषेधाज्ञाका कारण व्यवसाय पनि नभएकाले बैंकहरूलाई सुन आयात गर्न नभनिएको महासंघको भनाइ छ ।

चालू आवको १० महीनामा नेपालमा २१ अर्ब ६ करोड ८३ लाख रुपैयाँको सुन आयात भएको छ । सो अवधिमा ३ हजार १८ केजी सुन आयात भएको हो ।

वैशाखमा सुनको आयात कम भए पनि १० महीनामा भने सुनको आयात गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढेको छ । गत आवको वैशाख मसान्तसम्ममा १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको २ हजार ४०० केजी सुन आयात भएको थियो ।

चालू आवको समीक्षा अवधिमा टर्कीबाट २ अर्ब १२ करोड २२ लाख र यूएईबाट १८ अर्ब ९४ करोड ६१ लाख रुपैयाँ बराबरको सुन आयात भएको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)