ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक व्यापारमा देखिएन कोभिड प्रभाव

१० महीनामा १ खर्बभन्दा बढीको निर्यात सन्तोषजनक अवस्था होइन : अर्थविद्

२०७८ जेठ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । कोरोना महामारीकै बीच मुलुकको वैदेशिक व्यापार उत्साहजनक रूपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महीनाको तथ्यांक अनुसार नेपालले रू. १३ खर्ब ६२ अर्बको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढी हो ।

वैशाख मसान्तसम्ममा नेपालले कुल रू. १ खर्ब ८ करोडको निर्यात गरेको छ । वैशाखमा मात्रै रू. १३ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ ।

सरकारले १० वर्षअघि नै वार्षिक निर्यात रू. १ खर्ब पुर्‍याउने लक्ष्य राखेकोमा चालू आवको १० महीनामै उक्त लक्ष्य हासिल भएको छ । यद्यपि यो सन्तोषजनक भने नभएको अर्थविद्हरूको भनाइ छ । रकम १ खर्ब नाघेको देखिए पनि स्थिर मूल्यमा हिसाब गर्दा यो सन्तोषजनक नभएको अर्थविद् रामेश्वर खनाल बताउँछन् । ‘१० वर्षअघि एक डलरको नेपाली मूल्य ८० रुपैयाँ थियो । अहिले १२० पुगेको छ । प्रचलित मूल्यअनुसार बढी निर्यात भएको देखिए तापनि यसमा सन्तुष्ट भइहाल्ने अवस्था छैन,’ उनले भने, ‘२०५० सालदेखि २०५४ सालसम्म जुन किसिमले निर्यात वृद्धि भएको थियो, त्यसलाई हिसाब गर्दा स्थिर मूल्यका आधारमा अहिलेको निर्यात त्यति बेलाको भन्दा पनि नराम्रो देखिन्छ ।’

१० महीनाको अवधिमा नेपालमा रू. १२ खर्ब ५४ अर्बको आयात भएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशत बढी हो । यसैगरी वैशाखमा मात्र कुल १ खर्ब ४२ अर्बको वस्तु तथा सेवा आयात भएको छ । चैतमा रू. १ खर्ब ६७ अर्बको सामान आयात भएकोमा आयात घटाउने र निर्यात प्रवद्र्धन गर्ने सरकारी नीतिका कारण निषेधाज्ञाकै बीच आयात प्रभावित नभएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए ।

‘१५ दिनसम्म सामान्य रूपमा सामान आयो, त्यसपछि निषेधाज्ञा भए पनि बाटोमा भएको सामान आइ नै रह्यो,’ उनले भने, ‘अहिले नै निषेधाज्ञाको असर देखिने बेला भएको त छैन । तर भन्सारलाई अत्यावश्यक सेवाभित्र राखेर भारत र चीन दुवै देशबाट सामान्य रूपमा आयात भइरहेको छ ।’ निषेधाज्ञाकै कारण केही अवरोध देखिए यसको प्रभाव जेठमा देखिन सक्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)