ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतका संक्रमितलाई होम आईसोलेशनमै परामर्श सेवा

२०७८ जेठ, १२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

जेठ १२, पर्वत । पर्वतमा कोरोना संक्रमितहरुलाई होम आईसोलेशनमै परामर्श सेवा दिन थालिएको छ ।

स्थानीय तहले संक्रमितको मनोवल बढाउन नियमित भेट, परामर्श र औषधी वितरण गर्न थालेका छन् । स्वास्थ्यकर्मीहरुले नियमित रुपमा स्वास्थ्य सम्बन्धि परामर्श दिन थालेपछि संक्रमण जित्न सहज भएको संक्रमितहरुले बताएका छन् । पैयुँ गाउँपालिकामा कोरोना संक्रमितको घरदैलोमा स्वास्थ्यकर्मी पुग्ने र परामर्श तथा औषधी वितरण गर्ने काम शुरु गरिएको छ । 

गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत केशव लामिछानेका अनुसार संक्रमितलाई घरदैलोमा पुगेर आयुर्वेदिक औषधी वितरण गर्ने, पल्स अक्सिमिटरबाट अक्सिजन नाप्न लगाउने, मनोवल उच्च राख्न परामर्श दिने लगायतका सेवा सञ्चालन गरिएको छ । गाउँपालिकाले अक्सिजनको लेबल कम भएकालाई कोभिड अस्पतालमा भर्ना गर्ने गरेको छ । 

घरदैलोमा पुगेर परामर्श, सल्लाह र औषधी वितरण गर्दा उनीहरुमा हौसला बढेको बिहादी गाउँपालिकाका स्वास्थ्य संयोजक हरिप्रसाद भुसालले बताए । ‘संक्रमण पुष्टि भएपछि एकजना आमा दिनभर रुनु भएछ,’ भुसालले भने, ‘हामीले पुगेर सम्झाएपछि उहाँलाई अहिले सहज भएको छ ।’ मनोसामाजिक परामर्शले संक्रमितलाई सहज हुने बताउँदै उनले नियमित सल्लाह र परामर्श प्रदान गरेको बताए । 

संक्रमितको घरमा अरु सदस्य लाई रोग नफैलियोस् भनेर मास्क, सेनिटाईजरसँगै अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर र ज्वरो नाप्न थर्मल गन लगायत स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको छ ।

फलेवास नगरपालिका ६ देबिस्थानले सबै जनप्रतिनिधीहरुलाई क्षेत्र छुट्याएर संक्रमितहरुको घरदैलोमा खटाएको वडाध्यक्ष भोलानाथ भुसालले बताए । ‘कसैलाई अस्पताल लैजानु पर्ने अवस्था भएमा डाक्टरसँग परामर्श गर्छौँ,’ भुसालले भने, ‘रातसाँझ नभनी हामी घरदैलोमा छौँ ।’ सामान्य अवस्थामा रहेकालाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको भुसालले जानकारी दिए । 

कुश्मा नगरपालिकामा पनि संक्रमितको अवस्था बुझ्दै आएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । उनले सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउँदै वडा मार्फत संक्रमितको घरसम्म स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको बताए । ‘संक्रमितको घरमा हामी पुगेर टाढैबाट भेट्छौँ,’ जोशीले भने, ‘औषधी र स्वास्थ्य सामग्री पनि दिन्छौँ ।’ भेटघाटले संक्रमितलाई केहि भए सरकार छ भन्ने हौसला हुने गरेको जोशीले बताए । 

कोरोना संक्रमण जित्न मनोवल घटाउन नहुने, नियमित परामर्श लिनुपर्ने, व्यायम र सन्तुलित भोजन गर्नुपर्ने स्वाथ्यकर्मीहरुले बताउने गरेका छन् । पर्वतमा संक्रमितहरुलाई आयुर्वेदिक औषधी पनि वितरण गर्ने गरिएको छ । 

फलेवास ३ र फलेवास २ मा शंकरपोखरी आयुर्वेदिक औषधालयले रोग प्रतिरोधात्मक शक्ति बढाउने औषधी वितरण गर्दै आएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)