ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खोप जुटाउन राष्ट्रपति सक्रिय

१० लाख डोज खोप नेपाललाई तत्काल दिने चीनको घोषणा

२०७८ जेठ, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । दोस्रो चरणको महामारीले सिँगो मुलुक नै अस्तव्यस्त भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुकबाट खोप जुटाउनका लागि एकाएक सक्रियता देखाउनुभएको छ ।

महामारीविरुद्ध सरकारले अन्तरराष्ट्रिय साथ खोजिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन पहल गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच बुधवार करीब पौने एक घण्टा टेलिफोन संवाद भएको छ । कोभिड महामारीको १ वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो संवाद दोस्रो थियो ।

दुई राष्ट्र प्रमुखबीच भएको संवादमा राष्ट्रपति भण्डारीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

जवाफमा चिनियाँ राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो । नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप किनेर लगाउन पनि नेपाल तयार रहेको चिनियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताउनुभएको थियो ।

नेपाल भाइरस महामारीको कठिन अवस्थामा रहेको बताउँदै राष्ट्रपति भण्डारीले चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि चिनियाँ राष्ट्रपतिसँग जिज्ञासा राख्नुभएको थियो ।

नेपालले चीनले उत्पादन गरेको सिनोफार्म खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसअघि उपलब्ध गराएको ८ लाख डोजका लागि चीनलाई धन्यवादसमेत दिनुभयो ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा उक्त खोप दिन लागेको ट्वीट गरेकी छन् । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउनेछ ।

यसैबीच, राष्ट्रपति भण्डारीले बुधवारै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप आपूर्तिका लागि विशेष पहल गर्न अनुरोध गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजका लागि आवश्यक मात्रा उपलब्ध गराउन पहल गरिदिन भारतीय राष्ट्रपतिलाई पत्राचार गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

भारतसँग खरीद सम्झौता भएको २० लाख डोज कोभिसिल्ड खोपमध्ये १० लाख डोज खोप आउन बाँकी छ । सिरम इस्टिच्युटले २०२१ को अन्त्यबाट मात्र विदेशमा खोप निर्यात गर्ने सूचना बाहिरएपछि नेपालले पहल अघि बढाएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले भारतबाहेकका अन्य खोप उत्पादक मुलुकसँग केही दिनयता आपूर्तिका लागि पहल गर्दै आएको छ । स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले अमेरिका, भारत, यूरोपेली संघ र बेलायतलाई खोप आपूर्तिका लागि पत्राचार गरिएको सोमवार पत्रकारहरूसँगको कुराकानीमा बताएका थिए ।

मन्त्री त्रिपाठीका अनुसार नर्वेली राजदूतसँग पनि हालै मात्र स्टकमा राखेको भनेको अस्ट्राजेनेका खोप आपूर्तिका लागि सरकारले आग्रह गरिसकेको छ र जवाफमा नर्वे सकारात्मक रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)