ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका गाउँ–गाउँमा फैलियो कोरोना संक्रमण

२०७८ जेठ, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भयावह रूपमा फैलन थालेको छ । जिल्ला सदरमुकाम बेनीबजारसँग जोडिएकासहित अन्य गाउँमा समेत संक्रमण तीव्र गतिमा फैलिएको छ ।

बेनी नगरपालिकाका ज्यामरुककोट, रत्नेचौर, भकिम्ली, सिंगा, डम्मरा, पुलाचौर, मंगलाघाट लगायत जिल्लाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण ह्वात्तै बढेको छ । जिल्लामा दैनिक १ सयभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ ।

जिल्लाका मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा पनि कोरोना संक्रमण बढिरहेको सम्बन्धित स्थानीय तहका प्रमुखहरूले बताएका छन् । कोरोना संक्रमणपछि उपचारका क्रममा बेनी अस्पताल, पोखरा लगायत मृत्यु हुनेहरू पनि अधिकांश ग्रामीण क्षेत्रका छन् ।

पछिल्लो एक महिनाको अवधिमा गाउँघरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । ‘कोरोना निकै फैलिन थालेको छ,’ उनले भने । त्यस्तै रघुगंगा र धवलागिरि गाउँपालिकामा पनि कोरोना संक्रमणको अवस्था उस्तै छ । गाउँपालिकाका विभिन्न गाउँमा धेरै नागरिक बिरामी परेको र स्वाब परीक्षण गरेका धेरैजसोमा संक्रमण पुष्टि भएको बताइएको छ ।

जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा संक्रमण ह्वात्तै बढेको छ । यहाँ अहिले २६ जना सक्रिय संक्रमित छन् । एकै वडामा दर्जनौंको संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, अझै स्वाब संकलन र परीक्षणको दायरा बढ्न सकेको छैन ।

पछिल्लो साताको अवस्था हेर्दा गाउँमा कोरोना संक्रमण डरलाग्दो रूपमा फैलिएको कोरोना नियन्त्रण अभियानमा सक्रिय बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँवरले बताए । संक्रमित बढ्न थालेपछि स्थानीय जनप्रतिनिधि चिकित्सकसहित स्वास्थ्य सामग्री, औषधि र पोषिलो खानेकुरा बिरामीको घरदैलोमा पुग्न थालेका छन् । यसले संक्रमितको आत्मबल बढेको पाइएको छ । ‘हामी कोरोना संक्रमितको अवस्था बुझ्ने र उनीहरूलाई स्वास्थ्य परामर्श तथा औषधि प्रदान गर्ने अभियान लिएर संक्रमितको घरदैलोमै पुगेका छैं,’ बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भने ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले अहिले संक्रमण दर बढ्नुको मुख्य कारण संक्रमित सुरक्षितसँग आइसोलेशनमा नबस्नु पनि एउटा कारण भएको बताए । ‘अहिले संक्रमण दर जे जसरी बढ्दो क्रममा देखिन्छ, यसमा संक्रमित र नागरिकको लापरबाही कारक छ,’ उनले भने, ‘साथै वैशाख महीनामा गाउँघरमा भएका विवाह, धार्मिक कार्यमा मानिसको बढी भीडभाड भएकाले पनि यस्तो अवस्था आएको हो ।’ सरकारले निर्देशन गरेका सबै स्वास्थ्य मापदण्ड र बन्दाबन्दीलाई सहीरूपमा पालना गरे संक्रमण थप फैलिन रोक्न सकिने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)