ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास

२०७८ जेठ, १७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य प्रशासनिक भवन शिलान्यास गरिएको छ । शनिवार गणतन्त्र दिवसको अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले भवनको शिलान्यास गरेका हुन् । नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिन नयाँ भवन निर्माण गर्न लागिएको नगरपालिकाले बताएको छ ।

कुल अनुमानित लागत ३१ करोड ९७ हजार ६०० रुपैयाँ रहेको उक्त प्रशासनिक भवन निर्माणका लागि १६ करोड ४९ लाख ७६ हजारमा ठेक्का सम्झौता भएको छ । नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले दुई वर्षमा सक्ने गरी चारतले भवनको शिलान्यास गरिएको जानकारी दिए । उनका अत्याधुनिक सेवा सुविधा रहनेगरी भवन निर्माण गरिने छ । भवनमा १० वटा मिटिङ हल, नगर प्रमुख तथा उपप्रमुख कक्ष, शाखा कार्यालय कक्ष, प्रशासनिक कक्ष लगायत संरचना बन्नेछन् । चारतले भवनमा लिफ्टको समेत व्यवस्था हुनेछ ।

भवन निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले १८ लाख बजेट विनियोजन गरेको छ भने थप बजेटका लागि प्रतिबद्धता गरेको छ । अपुग बजेट नगरपालिकाले विनियोजन गर्ने नगरपालिकाका प्रशासकीय  अधिकृत पुष्कर भट्टले बताए । उनका अनुसार हाल छुट्टाछुट्टै भवनमा शाखाहरू सञ्चालन भइरहेकोमा भवन निर्माणपछि एकै ठाउँमा रहने हुँदा सेवा प्रवाह सहज हुनेछ । अहिले एक सयभन्दा बढी कर्मचारी रहेको मुख्य प्रशासनिक कार्यायलमा ठाउँ अभाव छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले कार्यायललाई थप व्यवस्थित बनाउन मुख्य प्रशासनिक भवन निर्माण गर्न लागिएको बताए । नगरपालिकाले बलियो भौतिक पूर्वाधारसहित गुणस्तरीय सेवा सम्पादनमा जोड दिएको उनको भनाइ छ । नगरपालिकाले २५ वर्षे गुरुयोजना बनाएर काम गरिरहेको छ ।

प्रमुख प्रशासकीय भवनको निर्माण समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई नगर प्रमुख विष्टले निर्देशन समेत दिएका छन् । नगर उपप्रमुख सुशीला चन्द सिंहले समयमै भवन निर्माण सम्पन्न गर्न नियमित रूपमा अनुगमन गरिने बताइन् । निर्माण व्यवसायी धर्मराज जोशीले समयमै निर्माण सम्पन्न गर्ने दाबी गरे । निर्माण सामग्रीको अभाव नरहे निर्धारित समयावधि अगाडि भवन निर्माण सक्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)