ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोभिड संक्रमितलाई होम आइसोलेशनमै परामर्श

२०७८ जेठ, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीमा कोरोना संक्रमितलाई होम आइसोलेशनमै परामर्श सेवा दिन थालिएको छ । स्थानीय तहले संक्रमितको मनोबल बढाउन नियमित भेट, परामर्श र औषधि वितरण गर्न थालेका हुन् ।

स्वास्थ्यकर्मीहरूले नियमित रूपमा स्वास्थ्यसम्बन्धी परामर्श दिन थालेपछि संक्रमण जित्ने आत्मविश्वास बढेको संक्रमितहरूले बताएका छन् । जिल्लाका ६ ओटै स्थानीय तहमा कोरोना संक्रमितकै घरदैलोमा स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि पुग्ने र परामर्श तथा औषधि दिन शुरू गरिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाका अनुसार संक्रमितलाई घरदैलोमा पुगेर औषधि वितरण गर्ने, पल्स अक्सिमिटरबाट अक्सिजन नाप्न लगाउने, मनोबल उच्च राख्न परामर्श दिने लगायत सेवा सञ्चालन गरिएको छ । गाउँपालिकाले अक्सिजनको लेभल कम भएकालाई कोभिड अस्पतालमा भर्ना गर्ने गरेको छ ।

घरदैलोमा पुगेर परामर्श, सल्लाह र औषधि वितरण गर्दा संक्रमितहरूमा मनोबल बढेको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर रावलले बताए । ‘संक्रमण पुष्टि भएपछि मानिस धेरै आत्तिँदा रहेछन्, यस्तो बेलामा मनोसामाजिक परामर्शले उत्साह प्रदान गर्छ,’ अध्यक्ष रावलले भने ‘हामी नियमित सल्लाह र परामर्श प्रदान गर्ने कार्यमा लागेका छौं ।’

संक्रमितको घरमा अरू सदस्यलाई रोग नफैलियोस् भनेर मास्क, सेनिटाइजर, अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर, ज्वरो नाप्न थर्मल गन लगायत स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताए ।

मंगला गाउँपालिकाले  सबै जनप्रतिनिधिलाई क्षेत्र छुट्याएर संक्रमितको घरदैलोमा खटाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘कसैलाई अस्पताल लैजानुपर्ने अवस्था भए डाक्टरसँग परामर्श गर्छौं,’ रोकाले भने । सामान्य अवस्थामा रहेकालाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको उनले जानकारी दिए ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि संक्रमितको अवस्था बुझ्दै आएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताए । सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको भन्दै उनले वडामार्फत संक्रमितको घरसम्म स्वास्थ्य सामग्री पु¥याउने गरिएको जानकारी दिए ।

‘संक्रमितको घरमा पुगेर टाढैबाट भेट्छौं,’ भण्डारीले भने, ‘औषधि र स्वास्थ्य सामग्री पनि दिन्छौं ।’ भेटघाटले संक्रमितलाई केही मात्रामा हौसला मिल्ने गरेको भण्डारीले बताए । कोरोना संक्रमण जित्न मनोबल बढाउनुपर्ने, नियमित परामर्श लिनुपर्ने, व्यायाम र सन्तुलित भोजन गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाउने गरेका छन् । जिल्लामा संक्रमितमध्ये अधिकांश ग्रामीण क्षेत्रका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)