ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना कहर र निषेधाज्ञाले छेकेन विकास

२०७८ जेठ, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोना कहर र निषेधाज्ञाका कारण देशमा अधिकांश गतिविधि ठप्पप्रायः भइरहेका बेला म्याग्दीमा भने विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् । जिल्लामा राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, जिल्लाका स्थानीय तह जोड्ने कृषि वा ग्रामीण सडक स्तरोन्नति तथा मर्मत र पुल निर्माण धमाधम भइरहेको छ ।

कोरोना संक्रमणको जोखिम उच्च रहेको भए पनि राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्र शुरू भएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा नं १ बेगखोला जोड्ने सडक आइतवारदेखि कालोपत्र शुरू भएको हो ।

गतवर्ष नै कालोपत्र गर्ने तयारी गरिए पनि कोरोना र बन्दाबन्दीका कारण रोकिएको काम एक वर्षपछि सुचारु भएको हो । सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति गरेको थियो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्र गर्न प्राइम (बिटुमिन) बिछ्याउन शुरू गरेको हो ।

ओमकारेश्वर कन्स्ट्रक्सनका सञ्चालक अमृत दाहालले कुनौटोदेखि गलेश्वरतर्फ प्राइम कोड हालेर कालोपत्रको काम शुरू गरेको बताए । मौसमले साथ दिएमा गलेश्वरदेखि बेगखोला सम्मको ८ किलोमिटर सडकमध्ये ६ किलोमिटर जेठभित्र कालोपत्र गरिसक्ने उनको भनाइ छ ।

त्यसैगरी पश्चिम म्याग्दीको बाबियाचौरदेखि अर्मन नेटा जोड्ने पक्की पुलको निर्माण पनि धमाधम भइरहेको छ । लुम्बिनी प्राकृतिक जेभीले ११ करोडमा ठेक्का लिएको यो पुलको भौतिक प्रगति ८० प्रतिशत रहेको र असार मसान्तसम्म पूरा गर्ने लक्ष रहेको सब–इन्जिनियर सविनकुमार शाक्यले बताए ।

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित आयोजनामा कोरोना र निषेधाज्ञाको असर नपरेको बताइएको छ । सडक र मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको छ । त्यसैगरी बेनीबजार संरक्षण, राहुघाट जलविद्युत्, नीलगिरि, घारखोला, मंगले राहुघाटलगायत जलविद्युत् आयोजना निर्माण धमाधम भइरहेका छन् । विकास आयोजना निर्माण जारी भएपछि ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई राहत मिलेको छ । यस्तै पूँजी निर्माण, विकास बजेट परिचालन तथा योजना कार्यान्वयनमा सहयोग पुगेको छ ।

यता, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाहरू भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठजना युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको ५ लाख बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।

स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुँवर, कृष्ण पोख्रेल लगायत युवाले अहिले धमाधम खहरे खोलामा ग्याबिन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रबहादुर कुँवरले जानकारी दिए ।

वडासदस्य कुँवरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाको ५ लाख लागतमा निर्माण गरिएको खहरेखोला–कुरुंदी–जलकेनी सडकमा गतवर्ष आएको बाढीले क्षति पुर्‍याएपछि सोही सडकको मर्मत कार्यमा युवाहरू जुटेका हुन् । बन्दाबन्दीको समयमा घरमा विनाकाम बस्नुभन्दा युवाले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकाले सडक मर्मतको जिम्मा स्थानीय युवाहरूलाई नै दिइएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)