ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक व्यापारमा कोरोनाको असर : घट्यो समुद्रपारका मुलुकसँगको कारोबार

२०७८ जेठ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना महामारीले वैदेशिक व्यापार खुम्चिएको छ । सन् २०२० को शुरुआतसँगै महमारी फैलिन थालेपछि नियन्त्रणका लागि अपनाइएका उपायहरूले नेपालको समुद्रपारका मुलुकहरूसितको कारोबार खुम्चिएको हो ।

सन् २०२०/२१ मा तेस्रो मुलुकबाट आयात हुने मालसामान लिएर नेपाल भित्रिने कन्टेनरको संख्या उल्लेख्य परिमाणले घटेको छ । नेपालको वैदेशिक व्यापार वर्षेनि बढ्दै आएकोमा यो वर्ष पहिलोपटक तेस्रो मुलुकसँगको व्यापार परिमाण खुम्चिएको हो ।

भारतको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (एनटीडब्ल्यूसी) का अनुसार बितेको वर्ष २०२०/२१ (अप्रिलदेखि मार्च) मा तेस्रो मुलुकबाट नेपालका लागि आउने कन्टेनर संख्या १७ हजार ६४५ ले घटेको छ । गत वर्ष भारतको श्यामाप्रसाद मुखर्जी (कोलकाता) र विशाखापत्तनम् बन्दरगाह हुँदै नेपालका लागि २० फीटका ९० हजार ४६६ ओटा कन्टेनर आएको एनटीडब्ल्यूसी कोलकाता कार्यालयका प्रमुख हिमनाथ पौडेलले जानकारी दिए ।

वर्ष २०१९/२० मा यो संख्या १ लाख ८ हजार १११ थियो । सन् २०२० का शुरूका केही महीना व्यापारमा कोरोना महामारीको असर खासै देखिएको थिएन । संक्रमण पैmलिएसँगै बन्दाबन्दी र निषेधाज्ञा लागू भएपछि व्यापार घट्दै गएको हो ।

सरकारले कोरोना नियन्त्रणका लागि अघिल्लो वर्ष ६ महीनासम्म लगाएको बन्दाबन्दी र निषेधाज्ञाले बजारमा आपूर्ति र माग घटेको थियो । आवागमन र बजार अवरुद्ध भएपछि त्यसको प्रभाव वैदेशिक व्यापारमा देखिएको हो ।

वर्ष २०१९/२० मा प्रतिमहीना औसत ९ हजार कन्टेनर भित्रिएको तथ्यांक एनटीडब्ल्यूसीसित छ । बितेको वर्ष यो संख्या घटेर ७ हजार ५३८ मा झरेको छ ।

यस अवधिमा कोलकाता बन्दरगाहबाट ५८ हजार ६०५ कन्टेनर आएका छन् । तीमध्ये रेलमार्फत १९ हजार १०४ र सडकमार्गबाट ३९ हजार ५०१ कन्टेनर नेपाल भित्रिएको पौडेलले जानकारी दिए । विशाखापत्तनम्बाट ३५८ ओटा र्‍याकमा ३१ हजार ८६१ कन्टेर मालसामान भित्रिएको थियो ।

कोरोना नियन्त्रण गर्न ६ महीनासम्म उद्यम, बजार, व्यापार ठप्प पारिएपछि वैदेशिक व्यापारमा त्यसको प्रभाव देखिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् । ‘गतवर्ष बन्दाबन्दी र निषेधाज्ञाले उत्पादन र आपूर्तिमा परेको असर वैदेशिक व्यापारको परिमाणमा देखिएको हो,’ संयोजक टेमानीले भने, ‘अहिले पनि निषेधाज्ञा १ महीनाभन्दा बढी भइसकेको छ । आयात र उत्पादनमा नकारात्मक प्रभाव देखिन थालिसक्यो ।’

बन्दाबन्दी र निषेधलाई नै महामारी नियन्त्रणको एकमात्र उपाय देख्ने र अन्य विकल्पमा ढिलासुस्तीले अर्थतन्त्रमा नकारात्मक असर परिरहेको टेमानीको दाबी छ । गत असोजमा निषेधाज्ञा हटेयता वैदेशिक व्यापार विस्तारै लयमा आउन लागेकोमा पुनः निषेधाज्ञा लागेपछि वैदेशिक व्यापारमा कमी आएको आयातकर्ता नवनीत अग्रवाल बताउँछन् ।

नेपालका अधिकांश भूभागमा निषेधाज्ञा र भारतका विभिन्न राज्यमा लगाइएको बन्दाबन्दीबाट ढुवानी अवरुद्ध भएको र ढुवानीको खर्चसमेत वृद्धि भएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ शेयर मार्केट समितिका संयोजकसमेत रहेका अग्रवालले बताए । ‘ढुवानी र आवागमनमा अवरोध भएपछि बजारमा माग र आपूर्ति दुवै घट्छ । यसको असर व्यापारको परिमाणमा स्वाभाविक रूपमा देखिने नै भयो,’ उनले आर्थिक अभियानसित भने ।

समुद्रपार व्यापारमा बढी चल्तीमा रहेको कोलकाता बन्दरगाहबाट चालू वर्षका शुरुआती महीनामा समेत कन्टेनर आगमन घटेको देखिन्छ । गत अप्रिलमा कन्टेनर संख्या ६ हजार ११८ रहेकोमा मे महीनामा ४ हजार ६६७ मा सीमित भएको एनटीडब्ल्यूसीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)