ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना अवधिमा वैदेशिक लगानी ९.६६% ले घट्यो

२०७८ जेठ, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना अवधिको २ आर्थिक वर्षमा नेपालमा वैदेशिक लगानी प्रतिबद्धता आउने क्रममा उल्लेख्य अन्तर देखिएको छैन । कोरोना भाइरस (कोभिड–१९)कै बीचमा गत आर्थिक वर्षको तुलनामा भन्दा चालू आर्थिक वर्षको मध्य वैशाखसम्म आइपुग्दा वैदेशिक लगानी प्रतिबद्धता ९ दशलमव ६६ प्रतिशतले घटेको पाइएको छ ।

उद्योग विभागको तथ्यांकअनुसार चालू आवको वैशाखसम्ममा नेपालमा रू. २७ अर्ब ३ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको छ । १५१ ओटा परियोजनामार्फत उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा यस्तो प्रतिबद्धता रकम रू. २९ अर्ब ९२ करोड रहेको थियो । यी २ आर्थिक वर्षमा आएको प्रतिबद्धता रकम कोरोना शुरू हुनुअघिको आव २०७५/७६ को भन्दा बढी हो ।

२०७५/७६ का यस्तो लगानी प्रतिबद्धता जम्मा रू. ११ अर्ब ५७ करोड थियो भने २६८ ओटा परियोजना दर्ता भएका थिए । नेपालमा गत आव २०७६/७७ को पहिलो ६ महीनालगत्तै अर्थात् माघ १० गते पहिलो कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसयता मुलुकमा वैदेशिक लगानीका परियोजना तथा लगानी आउन कमी हुने आकलन गरिए पनि अघिल्ला आर्थिक वर्षहरूको तुलनामा उल्लेख्य अन्तर नदेखिएको उद्योग विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षमा दर्ता भएका परियोजना सञ्चालन र प्रतिबद्धताअनुसार लगानी भित्रिए ४ हजार ५३५ जनाले रोजगारी पाउनेछन् । गत आवको यस अवधिमा कम परियोजना दर्ता भए पनि प्रतिबद्धता रकम भने उल्लेख्य देखिन्छ ।

गत आवको यसअवधिमा १७८ परियोजना दर्ता भएका थिए । गत आवकोे ६ महीनाअघि कोरोना संक्रमण थिएन । यसले गर्दा पनि गत आवमा लगानी प्रतिबद्धता बढेको आकलन विभागका आधिकारी गर्छन् । नेपालमा २०७६ चैतदेखि कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न समयमा निषेधाज्ञा तथा बन्दाबन्दीहरू जारी गर्दा यस्ता लगानी प्रतिबद्धता केही कम आएको देखिन्छ ।

विभागका महानिर्देशक जीवलाल भुसालले लगानी प्रतिबद्धता केही घटेको बताए । कोरोना महामारीका कारण विगत वर्षहरूमा भन्दा केही अन्तर हुने सम्भावना हुने उनको भनाइ छ । ‘तर, मुख्य कुरा केहो भने यस्तो परिस्थितिमा पनि अहिले आएको प्रतिबद्धतालाई राम्रो भन्न सकिन्छ,’ भुसालले भने, ‘अहिलेको अवस्था हेर्दा आर्थिक वर्षको अन्तिमसम्म प्रतिबद्धता रकम रू. ३२ अर्बसम्म पुग्ने आकलन गरिएको छ, आइतवारमात्रै केही दिनदेखि होल्डमा रहेको लगानी स्वीकृत गरिएको छ ।’

कोरोना महामारीको नभएको भए गत वर्षको तलुनामा लगानी प्रतिबद्धता बढ्ने सम्भावना देखिएको विभागको आकलन रहेको छ । लगानी आउने क्रम बढ्दो क्रममा रहेको छ । महामारीका कारण लगानीकर्ता प्रस्ताव तयार गरेर पनि निवेदन नहाली बसेको भुसालको दाबी छ । ‘वैदेशिक लगानी केही घटे पनि समग्रमा ती लगानीकर्ता निरुत्साहित भएको देखिँदैन,’ उनले भने, ‘अहिलको विषम परिस्थितिका कारणमात्रै यस्तो देखिएको हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)