ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँचओटा बजेटमा कोटेश्वर–जडीबुटी सुरुङमार्ग : डीपीआर नबन्दै रू. १८० करोड बजेट विनियोजन

२०७८ जेठ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता दिएका छन् । अरनिको राजमार्गअन्तर्गतको यस खण्डमा सुरुङमार्ग बनाउने घोषणा गर्ने पहिलो अर्थमन्त्री भने तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरा हुन् ।

उनले २०७४/७५ को बजेट वक्तव्यको बुँदा १२१ मा कोटेश्वर–सूर्य विनायकमा सुरुङमार्ग बनाउने घोषणा गरेका थिए । उक्त बजेटमा यो सुरुङमार्ग पर्यटन पूर्वाधारमा राखिएको भए पनि त्यस यताका बजेटमा भने यसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सुरुङमार्ग योजनामा राखिँदै आएको छ ।

हालसम्मका पाँचओटा बजेट वक्तव्यमा प्राथमिकताका साथ प्रवेश पाएको यो खण्डको सुरुङमार्ग काठमाडौंको कोटेश्वरको सवारी चापलाई व्यवस्थित गर्न निर्माण गरिने भएको हो । तर, हालसम्म पनि सुरुङमार्गसहित बन्ने भनिएका अन्डरपास वे, प्mलाइओभर बनाउन न विस्तृत अध्ययन छ न त विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) नै तयार पार्न पहल भएको छ ।

डीपीआर नबने पनि अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत उक्त खण्डमा सुरुङमार्ग बनाउन रू. १ अर्ब ८० करोड बजेट विनियोजन गरेका छन् । चालू आवमा नै सुरुङमार्ग निर्माण प्रारम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । सडक विभागले हालै उक्त खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई विस्तृत अध्ययन गर्न पत्राचार गरेको छ ।

डीपीआर नै नबनेको उक्त सुरुङमार्ग आयोजनाको निर्माणमा बजेट खर्च हुने अवस्था नै नभएको विभाग स्रोतको भनाइ छ । विनियोजित रकममध्ये केही डीपीआर अध्ययनमा खर्च हुन सक्ने देखिएको स्रोतले जानकारी दियो ।

जाइकाले केही समयअघि विभागलाई बुझाएको सम्भाव्यता अध्ययनले यी संरचना निर्माण गर्न रू. १३ अर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको थियो । उक्त अध्ययनअनुसार उक्त खण्डमा फ्लाईओभर/अन्डरपास वे, सुरुङमार्गसहित कुल १७ सय १० मीटरको सडक निर्माण हुनेछ । २०१९ देखि अध्ययन शुरू गरेको जाइकाले विभागलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । अहिले विस्तृत अध्ययनका लागि पत्राचार गरिएको विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए । हालसम्म सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) मात्रै भएको तर सुरुङमार्गको विस्तृत अध्ययन भने भइनसकेको उनले बताए ।

डीपीआर नै तयार नभएकाले विनियोजन गरिएको बजेट खर्च नहुने स्पष्ट देखिन्छ । उक्त खण्डमा विभिन्न विकल्पमा छलफल भए पनि अहिले सुरुङमार्ग बनाउने निश्चित भएको उनले बताए । ‘हामीले जाइकालाई तीनकुने साइटतर्फ फ्लाइओभर, कोटेश्वर चोकमा सुरुङमार्ग र जडीबुटी साइटतर्पm प्रवेश गर्दा पुनः फ्लाइओभर नै बनाउने भनी प्रस्ताव गरेका छौं,’ पोखरेलले भने ।

काठमाडौंको तीनकुने–कोटेश्वर–जडीबुटी क्षेत्र अत्यधिक ट्राफिक चाप हुने क्षेत्र हो । यहाँ घण्टौंसम्म सवारीसाधन जाममा फस्ने गरेका छन् । यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्mलाईओभरसहितको सुरुङमार्ग नै उचित देखिएको उनको भनाइ छ ।

यस परियोजनासँग नेपाल नागरिक उड्डयन प्राधिकरण पनि जोडिएकाले विमानस्थलको दक्षिणपट्टी पर्ने जग्गा उपलब्ध गराउने विषयमा समय लागेको थियो । प्राधिकरणले अहिले अन्डरपास बनाउन दिने गरी विभागलाई अनुमति दिएपछि विस्तृत अध्ययनका लागि बाटो खुलेको छ । कोरोनाका कारण काम अघि बढाउन नसकिएको पोखरेलले बताए ।

घोषणाको शुरू वर्ष २०७४/७५ को बजेट वक्तव्यमा ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गरिनेछ । यसअन्तर्गत विमानस्थलसँगै कोटेश्वर–सूर्य विनायक सडकलाई सुरुङमार्गमा परिणत गरी विमानस्थलको धावनमार्ग विस्तार र पार्किङ वे थप गरी एयर ट्राफिक समस्या न्यून गरिनेछ,’ उल्लेख गरिएको थियो । आव २०७५/७६ को बुँदा १६९ मा निर्माण प्रारम्भ गरिने उल्लेख गरिए पनि २०७६/७७ को बजेटमा भने विस्तृत सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको थियो । चालू आवमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाई ओभर तथा सुरुङमार्ग निर्माण प्रारम्भ गर्ने उल्लेख गरिएको छ । आगामी आव २०७८/७९ को बजेटमा पनि यो कार्यक्रमले प्रवेश पाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)