ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि खोप लगाइँदै

२०७८ जेठ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । आज (मंगलवार)देखि ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिँदै छ । अघिल्लो साता मंगलवार र बुधवार गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्राप्त १० लाख भेरोसेल खोप उक्त उमेर समूहका नागरिकलाई लगाउन लागिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ गरी देशभर सो उमेर समूहका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको छ । यसअघि गतवर्ष चीनले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल खोप अत्यावश्यक क्षेत्रमा सेवारत कर्मचारी, चीनमा पढ्ने विद्यार्थी र चीनसँग कारोबार गर्ने व्यापारीलाई लगाइएको थियो ।

चीनले ६० वर्षमाथिका नागरिकमा पर्याप्त परीक्षण भइनसकेकाले सोमुनिका व्यक्तिलाई मात्र भेरोसेल खोप लगाउन भनेको थियो । सोहीअनुसार नयाँ आउने खोपका लागि पनि मन्त्रालयले त्यसअनुसार नै ६० वर्षमुनिका व्यक्तिलाई खोप लगाउने तयारी गरेको थियो । तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ६० वर्षमाथिकालाई पनि लगाउन अनुमति दिएकाले खोप लगाउन छुटेका उक्त समूहलाई प्राथमिकतामा राखेर यस चरणमा खोप दिन लागिएको मन्त्रालय अन्तर्गत कोभिड १९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए ।

मन्त्रालयले अनलाइन फारम खुला गरेर पनि खोप लगाउन इच्छुकको तथ्यांक संकलन गरेकोमा यस चरणमा भने अनलाइन आवेदन भरेकालाई खोप नलगाइने उनले बताए । ‘विभिन्न देशबाट खोप आयातका लागि प्रयास भइरहेको छ, विस्तारै अनलाइनबाट प्राप्त आवेदनसहित अन्य समूहलाई खोप लगाइनेछ,’ उनले भने ।

यसअघि चैत तेस्रो साता चीनबाट ८ लाख डोज खोप नेपाल आएको थियो, जसमध्ये ३ लाख ४४ हजार ७१४ जनालाई दोस्रो मात्रा समेत लगाइसकिएको मन्त्रालयले बताएको छ । करीब ३ प्रतिशत नागरिकलाई भने दोस्रो मात्रा लगाउन छुटेकोमा अहिलेकै चरणमा उनीहरूलाई पनि खोप लगाइने कोभिड १९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. उप्रेतीले जानकारी दिए ।

यसैबीच, सरकारले ‘कोभिशिल्ड’ खोपको विकल्पका रूपमा अक्सफोर्ड–एस्ट्राजेनेकाको सोही फर्मूलामा निर्मित अन्य खोप लगाउने निर्णय गरेको छ । कोभिशिल्ड निर्माता भारतीय कम्पनी सेरम इन्स्टिच्युट प्रालिले र कोभ्याक्स सुविधाअन्तर्गतको खोप पनि उपलब्ध गराउन नसकिने बताएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको विकल्प खोजेको हो ।

सरकारले गतवर्ष माघ १४ गतेदेखि भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोपबाट खोप कार्यक्रम शुरू गरेको थियो । चिनियाँ भेरोसेल र भारतीय कोभिशिल्ड दुवै गरी हालसम्म नेपालमा २८ लाख २७ हजारलाई खोप लगाइएको छ, जसमध्ये ३ लाख ६९ हजारलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइएकोमा २१ लाखभन्दा बढीलाई दोस्रो मात्रा लगाउन बाँकी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)