ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वत अस्पताल : स्वास्थ्यकर्मीले ४ महीनादेखि पाएनन् तलबभत्ता

२०७८ जेठ, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी मासिक तलबभत्ता पाउन सकेका छैनन् । कोरोना महामारीमा जोखिमपूर्ण रूपमा काम गर्दै आएका कर्मचारीले चार महीनादेखि तलबभत्ता पाएका छैनन् । सरकारले कोभिड महामारीमा खटिने स्वास्थ्यकर्मीलाई न्यूनतम ५० प्रतिशत भत्ता दिने घोषणा अघिल्लो आर्थिक वर्षमै गरेको थियो । तर, यहाँ कार्यरत स्वास्थ्यकर्मीले फागुनयता न्यूनतम पारिश्रमिक समेत पाएका छैनन् ।

पर्वत अस्पतालका चार चिकित्सक, ११ जना स्टाफ नर्स, अनमी र कार्यालय सहयोगीलगायत १५ जनाले तलबभत्ता नपाएका हुन् । अस्पताल विकास समितिले नियुक्त गरेका र करार सेवामा कार्यरत केही चिकित्सक र अरू स्वास्थ्यकर्मीले नियमित पारिश्रमिक पाएका छैनन् ।

कोरोनाको दोस्रो लहरले भयावह रूप लिएको अवस्थामा उनीहरू चौबीसै घण्टा सेवामा खटिएका छन् । ‘यस्तो जोखिम छ । ज्यानको बाजी लगाएर काममा खटिएका छौं,’ डा. डिबी क्षेत्रीले भने, ‘सरकारले जोखिम भत्ता दिन्छु भनेको छ । तर हामीले नियमित पाउनुपर्ने पारिश्रमिक समेत चार महीनादेखि पाएका छैनौं ।’

अस्पतालमा कार्यरत चिकित्सकले बाहिर कतै सेवा नगरेबापत मासिक न्यूनतम ५ हजारका दरले नन प्राक्टिस एलाउन्स (एनपीए) पाउनुपर्ने व्यवस्था छ । सोबापतको रकम र जोखिम भत्तासमेत साउनदेखि नै नपाइएको एक चिकित्सकले गुनासो गरे । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले गत वैशाख २९ मा ३ दिनभित्र पारिश्रमिक नपाए काम छोड्न बाध्य हुने चेतावनीसहितको पत्र समितिलाई बुझाएका थिए ।

अस्पताल विकास समितिले स्वास्थ्यकर्मीको माग सम्बोधन गर्न सकेको छैन । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, पर्वत प्रशासन र अस्पताल विकास समितिलाई बोधार्थ दिइएको पत्रमा यो समस्याबारे जानकारी गराइए पनि सुनुवाइ नभएको स्वास्थ्यकर्मीको गुनासो छ ।

१५ शय्या स्वीकृत भएको अस्पताल अब ५० शøयामा स्तरवृद्धि गर्न पूर्वाधार निर्माणको काम भइरहेको छ । बेड क्षमता कम भए पनि दाँत, आँखा, डायलसिस, कोभिडलगायतको समस्याका कारण अस्पतालमा स्थायीभन्दा करार सेवाका स्वास्थ्यकर्मीको संख्या अधिक छ ।

अस्पताल प्रशासनले स्वास्थ्यकर्मीले पारिश्रमिक पाउन नसकेको स्वीकारेको छ । अस्पतालका लेखा अधिकृत गौरवदास बैरागीका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ र सरकारी कारोबार निर्देशिका २०७७ अनुसार सरकारी कारोबार एकल खाताकोष प्रणाली (टीएसए)मा जानुपर्छ । कोलेनिकाले तोकेको निर्देशिका पालना नगर्दा तलबभत्ता निकासीमा समस्या भइरहेको हो ।

कोरोना महामारीसँग जुध्दै स्वास्थ्यकर्मीले भने नियमित काम गर्दै आएका छन् । महामारीकै बीच १३५ जना बिरामीको विभिन्न शल्यक्रिया गरिएको छ । पर्वत अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको दोस्रो महामारी शुरू भएपछिको डेढ महीना अवधिमा १३ जना गर्भवतीको जटिल खालको सफल शल्यक्रिया गरिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)