ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न बाटो खुला

२०७८ जेठ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा पुनर्बीमा दलाल (ब्रोकर) कम्पनी स्थापना गर्न नीतिगत रूपमा बाटो खुला भएको छ । बीमा समितिले बुधवार पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न बाटो खुला गरेको हो ।

पुनर्बीमा ब्रोकर स्थापनाका लागि बीमा क्षेत्रबाट पहिलेदेखि नै माग हुँदै आएको थियो । बीमा समितिले अहिले आएर त्यसको लागि बाटो खुला गरेको हो । समितिले शतप्रतिशत निजीक्षेत्रको स्वामित्व हुने गरी पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न बाटो खुला गरेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालमै पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न मिल्ने गरी नीतिगत रूपमा नै बाटो खुला गरिएको बताए । ‘हालसम्म यस सम्बन्धमा कुनै पनि नीतिगत व्यवस्था थिएन ।

बीमाको बजार विस्तार हुँदै गएपछि पुनर्बीमा ब्रोकर कम्पनीको पनि आवश्यकता देखियो,’ उनले भने, ‘त्यसपछि प्रचलित बीमाअनुसार नै यस्तो व्यवस्था गरेका हौं ।’

अब कुनै पनि व्यक्तिले पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न सक्नेछन् । त्यस्ता कम्पनीको अधिकृत पूँजी न्यूनतम रू. १० करोड हुनुपर्नेछ । चुक्ता पूँजी भने अधिकृत पूँजी न्यूनतम ५० प्रतिशत (न्यूनतम ५ करोड) हुनुपर्ने निर्देशिकामा उल्लेख छ । साथै, चुक्ता पूँजीको २५ प्रतिशत रकम भने समितिबाट एअर मार्क गरी वाणिज्य बैंकको मुद्दती निक्षेपमा राख्नुपर्ने छ ।

सर्वप्रथम सम्बद्ध प्रस्तावकले पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न समितिबाट सैद्धान्तिक स्वीकृति लिएर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने छ । दर्ता भएपछि समितिबाट पुनर्बीमा ब्रोकरको काम गर्न अनुमतिपत्र लिनुपर्नेछ । त्यसपछि मात्रा त्यस्ता कम्पनीहरूले पुनर्बीमा ब्रोकरको काम गर्न सक्नेछन् । निर्देशिकाअनुसार समितिबाट अनुमति नलिई त्यस्तो काम गर्न पाइने छैन ।

यस्ता ब्रोकर कम्पनीको मुख्य काम पुनर्बीमा गर्ने मामलामा पुनर्बीमा कम्पनी र बीमा कम्पनीको बीचमा मध्यस्थकर्ता गर्ने हो । हाल नेपालमा भारतीय ब्रोकर कम्पनीहरूले अनुमति नलिई यस्तो काम गर्दै आएका छन् । तर, अब उनीहरूले पनि यही निर्देशिकाअनुसार कारोबार गर्नुपर्ने बीमा समितिका कार्यकारी पौडेल बताउँछन् ।

‘अहिलेसम्म नेपालमा भारतीय पुनर्बीमा ब्रोकर कम्पनीले अनुमति नै नलिएर यस्तो काम गर्दै आएका छन् । तर, अब उनीहरूले अनुमति नलिई यस्तो काम गर्न पाउँदैनन्,’ उनले भने, ‘उनीहरूले पनि यही निर्देशिका अनुसार नेपालमा छुट्टै कम्पनी दर्ता गरेर समितिको अनुमति लिएर मात्र यस्तो काम गर्न पाउनेछन् ।’

उनका अनुसार विदेशी ब्रोकर कम्पनीले पनि यहाँ आएर आवश्यक प्रक्रिया पूरा गरेर पुनर्बीमा ब्रोकरको काम गर्न पाउनेछन् । यस्तै, नेपालीको स्वामित्वमा दर्ता हुने ब्रोकर कम्पनीले विदेशमा गएर पनि यस्तो काम गर्न सक्ने पौडेलको भनाइ छ । ‘यहाँ दर्ता भएपछि कम्पनीहरूले विदेशी बजारमा गएर पनि पुनर्बीमा ब्रोकरको काम गर्न पाउने छन् । तर, उनीहरूले सम्बद्ध मुलुकको नियामक निकायले तोकेको मापदण्ड भने पालना गर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)