ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् कम्पनीबाट ८३० अक्सिजन सिलिण्डर सहयोग

अक्सिजन प्लान्ट बनाउने विषयमा पुनर्विचार गर्दै इप्पान

२०७८ जेठ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभावलाई दृष्टिगत गर्दै निजीक्षेत्रका जलविद्युत् कम्पनीले सरकारलाई ८३० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । प्रवर्द्धक कम्पनीहरूले तत्कालीन प्रयोगका लागि विभिन्न स्वास्थ्य चौकी तथा जिल्ला प्रशासन कार्यालयलाई अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् ।

निर्माणका चरणमा रहेका ३० जलविद्युत् आयोजनाले सरकारलाई उक्त संख्यामा सिलिण्डर प्रदान सहयोग गरेको विद्युत् विकास विभागबाट प्राप्त तथ्यांकले देखाएको छ । यस्तै, निर्माण सम्पन्न भएका आयोजनाले पनि २० सिलिन्डर प्रदान गरेको तथ्यांक छ ।

नेपालमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूसँग १०८८ ओटा अक्सिजन सिलिन्डर छन् । सो संख्यामा सहयोगपछि पनि ती आयोजनासँग अझै २५८ ओटा सिलिन्डर बाँकी छन् ।

नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै संक्रमितको उपचारमा अक्सिजन र अक्सिजन सिलिन्डरको अभाव भएको थियो । त्यसपछि विद्युत् विकास विभागले जलविद्युत् आयोजनाहरूलाई अक्सिजन सिलिन्डर दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोहीअनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को नेतृत्वमा विभिन्न आयोजनाले सरकारलाई सिलिन्डर दिएका हुन् । कोरोना कहर सकिएपछि सरकारले उक्त सिलिन्डर प्रवर्द्धक कम्पनीहरूलाई नै फिर्ता गर्ने बताइएको छ ।

आयोजनाहरूको निर्माणका क्रममा वेल्डिङको काम गर्न अक्सिजन आवश्यक पर्छ । यसका लागि अहिले नयाँ प्रविधि आइसके पनि अधिकांश आयोजनाले अझै अक्सिजन आवश्यक पर्ने प्रविधिको प्रयोग गर्दै आएका छन् ।

विभागका महानिर्देशक नवीनराज सिंहले विद्युत् प्रवद्र्धक कम्पनीबाट उक्त परिमाणमा अक्सिजन सिलिन्डर प्राप्त भएको बताए । ‘कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव भएपछि सघाउन जलविद्युत् आयोजनालाई आग्रह गरेका थियौं । त्यसपछि प्रवद्र्धक कम्पनीहरूबाट सिलिन्डर प्राप्त भएको हो,’ उनले भने, ‘अब कोरोना कहर समाप्त भएपछि फिर्ता गर्नेछौं ।’

इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकारलाई आवश्यक परे अझै पनि अक्सिजन सिलिण्डर दिइने बताए । ‘हामीले पहिले नै आयोजनाहरूमा भएका सबै सिलिण्डर प्रयोग गर्न दिने निर्णय गरेका छौं । हामीसँग अझै पनि अक्सिजन सिलिण्डर बाँकी छन्,’ उनले भने, ‘अहिले सिलिन्डरको अभाव छैन । आवश्यक परेमा दिन पछि हट्दैनौं ।’

कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव भएपछि इप्पान आफैले पनि अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने निर्णय गरेको थियो । तर, अहिले अक्सिजन अभावको समस्या समाधान हुँदै गएपछि यस विषयमा पुनर्विचार गर्न सकिने अध्यक्ष आचार्यको भनाइ छ ।

‘अहिले अक्सिजनको समस्या त्यति देखिँदैन । विभिन्न मुलुकबाट पनि यसमा सहयोग भयो । हामीले अक्सिजन प्लान्ट बनाएर दिँदा ढिला होला,’ उनले भने, ‘त्यसैले यसका लागि उठेको पैसाले अन्य कुनै सहयोग गर्ने विषयमा छलफल गरिरहेका छौं ।’ अक्सिजन प्लान्ट बनाउन इप्पानले विभिन्न प्रवद्र्धक कम्पनीबाट डेढ करोड रुपैयाँभन्दा बढी जम्मा गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)